‘पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा’ – पर्यटनमन्त्री किराँती


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उनले पर्यटन क्षेत्रबाट थोरै लगानीबाट पनि धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताएका हुन् ।

मन्त्री किराँतीले आम जनताका भावना, सरोकारबालाको सुझाव र आवश्यकताका आधारमा नयाँ भवन तथा धावनमार्ग विस्तार सुुरु गरेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भारतीय पर्यटकलाई ध्यानमा राखी विराटनगरबाट हिमाली दृश्यवालोकन उडान गर्नुपर्नेमा जोड दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, उपमहानिर्देशक हंशराज पाण्डे, होटल व्यवसायी राजन श्रेष्ठ र उद्योगपति राजेन्द्र खनालले प्रदेशमा रहेका १४ वटा विमानस्थलमा मोरङवाट हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कूल १६ हजार दुई सय ७७ वर्गमिटर क्षेत्रफलमा फैलिने टर्मिनल भवन दुई अर्ब ४२ करोडको लागतमा निर्माण हुनेछ ।

भविष्यमा बढ्न सक्ने हवाई यात्रुको चापलाई ध्यानमा राख्दै धावनमार्ग बिस्तार गरिन लागिएको विराटनगर विमानस्थलका प्रमुख रिञ्जी शेर्पाले जानकारी दिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।