कैलालीमा महिला समुहद्वारा व्यवसायिक रुपमा मस्यौरा र गुन्द्रुक उत्पादन


कैलालीको टीकापुरमा १७ लाख लगानी गरेर मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । व्यावसायिक रूपमा १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरेका हुन् ।

“सत्र जनाले एक–एक लाख रुपैयाँ लगानी गरेर उद्योग सञ्चालन गरेका हौं” , मालिका महिला उद्यमी कम्पनीकी कोषाध्यक्ष सिर्जना पण्डितले भनिन्, “हातले घरेलु प्रविधिबाट कात्तिकदेखि मस्यौरा बनाउन थालेका थियौँ, बजारको मागबारे बुझेपछि थप लगानी गरेर मेसिनबाट उत्पादन गर्न थालेका छौँ ।” उत्पादनका लागि बजारको समस्या नभएको उनको भनाइ छ ।

“बिक्रीका लागि समस्या छैन, काठमाडाँैबाट हाम्रो उत्पादन लिन फोन आइरहेका छन्”, उनले भनिन्, “हामीले उद्योग सञ्चालन गरेपछि मुला, कुपिण्डो र पिडालु यही खपत हुने भएको छ ।”

महिलाहरूले गुन्द्रुक तयार गर्न आवश्यक साग हाटबजारमा गएर खरिद गर्ने गरेका छन् भने पिडालु र कुपिण्डो खोज्न गाउँ–गाउँ जाने गरेका छन् । सबैको समान सहभागिताका आधारमा आफैँले काम गरिरहेको उनले बताइन् ।

उनीहरूले पहिलो दिन २५ केजी मस्यौरा उत्पादन गरेका छन् भने गुन्द्रुक ५० केजीका १५ ड्रम र सिन्की ५० केजीका छ ड्रम उत्पादनको तयारीमा छन् । तयारी भएको मस्यौरा गुणस्तर परीक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको छ ।

मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ । पिडालु छिल्ने, पिडालु मसिनो बनाउने, मास पिस्ने, पिडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच किसिमका मेसिन भारतको नयाँ दिल्लीबाट ल्याएका हुन् ।

यसरी उत्पादन भएको मस्यौरा र गुन्द्रुक नेपालमै खपत हुने र विदेशमा समेत पठाउन सकिने उनीहरू बताउँछन् ।

मस्यौरा तयार गर्ने मेसिनमा १३ लाख रुपैयाँ बढी खर्च भएको छ भने सिन्की परम्परागत रूपमै तयार गर्ने गरिएको छ ।

महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिडालु र मासले मूल्य पाउने भएको छ ।

मुलाको मूल्य बजारमा व्यापारीबाट किसानले १० रुपैयाँ, काउली १० रुपैयाँ, पिडालु ३० रुपैयाँ र कुपिण्डो ३० रुपैयाँमा बिक्री गर्ने गरेका थिए । अहिले मुला १५ रुपैयाँ, काउली १५ रुपैयाँ, पिडालु ४० रुपैयाँ र कुपिण्डो ४० रुपैयाँमा पाउन थालेका छन् ।

विगतमा तरकारी खेती गरेर बजारको समस्या भोगेका जानकी गाउँपालिका सुवर्णपुरका चित्रबहादुर चौधरीले तरकारीको मूल्य न्यून पाए पनि बजारको समस्या नभएको बताए । “मूल्य त खासै पाइएको छैन । विगतमा बजार नपाएर तरकारी फाल्नुपर्ने अवस्था थियो”, उनले भने, “मूल्य कम पाए पनि बजार नपाउने चिन्ता टरेको छ ।”

मालिका महिला उद्यमी कम्पनीका अध्यक्ष कल्पना जैसीले महिलालाई रोजगारसँग जोड्न उद्योग खोल्ने सल्लाह गरेर उद्योग स्थापना गरिएको बताइन् । “कच्चा पदार्थ स्थानीयस्तरमै पाइने, राम्रो व्यवस्थापन गरेमा स्वदेश तथा विदेशमा राम्रो बजार भएकाले हामी उत्पादनमा लागेका हौँ,” उनले भनिन्, “महिलाहरू पनि आयआर्जनका कार्यमा लाग्नुप¥यो भनेर काममा जुटेका छौँ ।”

महिलाले उत्पादन गरेका सामान व्यापार महासंघले बजारीकरण गरिदिने बताएको छ । “हामीले उद्योगमा करोडौँ लगानी गर्ने, एकै दिनमा धेरै उत्पादन गर्ने, अझै ठूला मेसिन थप्ने योजना बनाएका छौं,” उनले भनिन्, “दैनिक सयौँ जना महिलालाई रोजगार दिने वातावरण बनाउँछौँ ।” -रासस

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।