समृद्धि फूड प्रोडक्टको आम्दानीमा वृद्धि, १८ प्रतिशतले बढ्यो कारोबार


समृद्धि ग्रुपको लगानी रहेको समृद्धि फूड प्रोडक्टले सन् २०२२मा १ अर्ब १४ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी सन् २०२२ मा १७.९६ प्रतिशतले बढेको हो । सन् २०२१ मा कम्पनीले ९७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानीमा वृद्धि भएसँगै अन्य वित्तीय सूचकांकहरु पनि सकरात्मक देखिएका छन् । ह्रासकट्टी, डिप्रिसिएसन, ब्याज, कर र भाडा अघिको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको १२ प्रतिशत रहेको छ । जुन सन् २०२१ मा १० प्रतिशत थियो ।

यस्तै कम्पनीको कुल कर्जा र सेयरधनीहरुको सेयर अनुपात ३.९५ रहेको छ जुन सन् २०२१ मा ५.१४ थियो । कम्पनीले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.०६ गुणा रहेको छ जुन यस अघि १.४८ थियो ।

सन् २०१६ मा स्थापना भई सन् २०१८ देखि उत्पादन सुरु गरेको कम्पनीले मैदा, आटा, पेसा आटा, सूजी र चोकरको उत्पादन गर्दै आएको छ । उत्पादन गरेका सामाग्रीहरु कम्पनीले ‘अनन्त भोग’को ब्रान्डमा बिक्री गरिरहेको छ । प्लान्टको उत्पादन क्षमता प्रति दिन २८० मेट्रिक टन रहेको छ । मैदा, आटा र सूजी उत्पादन गर्ने क्षमता १५० मेट्रिक टन प्रति दिन रहेको छ भने पेसा आटा र चोकरको उत्पादन क्षमता १३० मेट्रिक टन रहेको छ ।

कम्पनीको मैदा, आटा र सूजी उत्पादन क्षमताको औसतमा ६६ प्रतिशत उत्पादन भइरहेको छ । यस्तै पेसा आटा र चोकरको औसत उत्पादन क्षमताको ४ प्रतिशत छ ।

कम्पनीले ८४ करोड २३ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १८ करोड २० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स रेटिङ गरेको छ भने ६६ करोड ३ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ए ४ रेटिङ प्रदान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।