बैंकिङ समस्या समाधानको माग गर्दै उद्योगी व्यवसायीद्धारा टंगालमा प्रदर्शन


ब्याजदर घटाउन माग गर्दै आएका उद्योगी व्यवसायीले सोमबार राजधानीको टंगालमा विरोध प्रदर्शन गरेका छन् ।

बालुवाटारस्थित राष्ट्र बैंकमा धर्ना दिने पुर्वनिर्धारित कार्यक्रम भए पनि निशेधित क्षेत्रमा जान सुरक्षाकर्मीले रोक लगाएपछि उद्योगी व्यवसायीले टंगालमा प्रदर्शन गरेका हुन् ।

बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा बिरोध प्रर्दशन गर्दै उद्योगी व्यवसायीले तत्काल एकल अंकको व्याजदर कायम गराउन सरकार तथा राष्ट्र बैंकसँग आग्रह गरेका छन् ।

चर्को ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै उनीहरुले सरकार तथा राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै समितिका संयोजक एवं मोरङ व्यापार संघका अध्यक्ष नबीन रिजालले राष्ट्र बैंकले कसैको सल्लाह र सुझाव नमानी एकोहोरो अघि बढ्दा अहिलेको अवस्था आएको आरोप लगाएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ तथा अन्जन श्रेष्ठले निजी क्षेत्र तहसनहसको अवस्थामा पुगेको भन्दै तत्काल समस्या समाधानका लागि राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए ।

प्रिमियम दर नियन्त्रण गर्नु पर्ने, ब्याजदर महँगो भयो, बैंकहरुले उद्योगी व्यवसायीलाई दुःख दिने काम बन्द गरिनु पर्ने जस्ता ब्यानर बोकेर उद्योगी व्यवसायीहरुले सडकमा धर्ना दिँदै कोणसभा गरेका थिए । विभिन्न जिल्ला तथा नगरका व्यवसायी संघका प्रतिनिधिहरु सहभागी बिरोध कार्यक्रममा बैंक वित्तीय संस्थाको ज्यादती धेरै भएको भन्दै आक्रोश पोखिएको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि आग्रह गर्ने योजना व्यवसायीको भए पनि निषेधित क्षेत्र पार गर्न नपाएपछि बिरोध कार्यक्रम कोण सभामा परिणत भएको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।