व्यवसायीका माग नसुने सरकारको विरुद्ध आन्दोलन गर्ने अवस्था आयो : उमेशलाल श्रेष्ठ


सरकारले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै उद्योगी व्यवसायीले सरकार विरुद्धको आन्दोलन सुरु गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको प्रदेश सभामा यस्तो आवाज उठेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले आफ्ना माग सुनुवाई गराउनका लागि आन्दालनको जरुरी रहेको बताएका हुन् । यस्तो अवस्था आउनु रहर नभई बाध्यता भएको उनको भनाई थियो ।

पछिल्ला दिनमा उत्पन्न समस्या समाधानका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकको मध्यस्तता हुनुपर्ने बताएका श्रेष्ठले कर्जाको किस्ता र ब्याजको पुर्नतालिकिकरणमा जोड दिए । कारोबार घटिरहेका बेला बजारबाट उधारो समेत नउठ्दा बैंकको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा पुगिएको उनको भनाई थियो । बैंकको आधार दर र प्रिमियम अधिक भएको भन्दै वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने उनको भनाई थियो ।

उद्योग व्यवसाय बचाउनका लागि क्रेडिट एक्ट ल्याउनु पर्ने माग गरेका उनले समग्र अर्थतन्त्र सुधारमा सबै लाग्नुपर्ने बताए ।

पछिल्लो समय उद्योग वाणिज्य महासंघको साख समेत गिर्दै गएको बताएका उनले विगतमा महासंघले उठान गरेका विषय तत्काल छलफल तथा सम्बोधन हुने गरेकोमा त्यो अवस्था नरहेको बताए । विगतको जस्तै व्यवसायीक हकहितमा काम गर्दै महासंघको साख पुनर्जागृत गर्न आफुले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए ।

आफु सानो उद्यम व्यवसायमा हुर्केको व्यवसायी भएको समग्र उद्योगी व्यवसायीको समस्या बुझेका कारण उक्त समस्या समाधान गर्न वरिष्ठ उपाध्यक्ष भएर महासंघमा आउन लागेको उनको दाबी थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।