माछापुच्छ्रे बैंकले १२ शाखाबाट अष्ट्रेलियन डलर सटही सुविधा दिने


माछापुच्छ्रे बैंकले अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री गर्न सुरु गरेको छ ।

बजारमा अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरि सटही सुविधा प्रदान गर्न लागेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १ हजार ५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन् ।

यही समस्यालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा र कन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाण्डौँ उपत्यका भित्र रहेका विभिन्न शाखाहरु मार्फत अष्ट्रेलियन डलर सटही सुविधा उपलब्ध गराउन लागिएको बैंकले जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकाभित्रका लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँ बानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर र न्यूरोड शाखाबाट अष्ट्रेलियन डलर उपलब्ध गराउने जनाएको छ ।