नेपालको आर्थिक समुन्नतीका लागि अयुतचण्डी महायज्ञ आयोजना हुने


बिग्रँदो आर्थिक अवस्था सुधारमा सकरात्मक सन्देश प्रवाह गर्ने लक्ष्य सहित अयुतचण्डी महायज्ञ आयोजना हुने भएको छ । प्रखर जी महाराजको सान्निध्य तथा मारवाडी सेवा समिति नेपालको आयोजनामा नेपालकै हालसम्मको ठुलो महायज्ञ आयोजना हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

बाँकेमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेका प्रखर जी महाराजको नेतृत्वमा महायज्ञ आयोजना हुन लागेको मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले बताए । उनका अनुसार अयुतचण्डी महायज्ञ एवं गणपति महायज्ञको मुल समारोह २०८० बैशाख १० गते देखि २४ गतेसम्म पशुपतिनाथ एवं वनकाली क्षेत्रमा सञ्चालन हुनेछ ।

स्वात्मनिर्भर नेपाल, आर्थिक उन्नति, औद्योगिक क्रान्ति, राष्ट्रको अभ्युदय, स्वरोजगार एवं स्वावलम्बन महायज्ञको उद्देश्य रहेको गोयलले जानकारी दिए ।

महायज्ञका लागि गत फागुन २७ गते पशुपतिनाथ एवं वनकाली क्षेत्रमा भूमिपूजन एवं संकल्प गरिसकिएको समितिका महासचिव प्रमोद कुमार अग्रवालले जानकारी दिए । उनका अनुसार नेपालमा पहिलो पटक २५१ ब्राह्मणद्धारा १०० कुण्डीय महायज्ञको आयोजना हुन लागेको हो । श्रीमद्भागवत कथा, सन्त सम्मेलन र श्रीकृष्ण रासलीला पनि महायज्ञका क्रममा प्रस्तुत हुने छ ।

पत्रकार सम्मेलनमा प्रखर जी महाराजले नेपालप्रतिको आफ्नो सद्भाव उच्च रहेका कारण १६ वर्ष पहिले तय भएको महायज्ञ अहिले आयोजना गर्न लागेको बताए । महायज्ञले नेपालको आर्थिक विकासमा सकरात्मक सन्देश प्रवाह हुने बताएका उनले धार्मिक पर्यटनका लागि पनि महत्वपुर्ण भुमिका रहने अपेक्षा गरे । महायज्ञमा ठुलो संख्यामा भारत तथा अन्य मुलुकबाट समेत भक्तजनहरु आउने भएकाले त्यसको अलग्गै महत्व हुने उनको भनाई थियो ।

नेपालको समृद्धिका लागि नै आफुले बाँकेमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको बताएका उनले आफु सदैव नेपालको भौगोलिक र आर्थिक विकासको पक्षमा रहेको बताएका थिए । धर्म अनुयायीहरुका साथै आम नागरिकलाई महायज्ञमा उपस्थितीका लागि पनि उनले आग्रह गरे ।

सकरात्मक सोचको अभाव खड्किरहेका कारण उत्पन्न विचलनलाई महायज्ञका माध्यमद्वारा सकरात्मक उर्जा प्रदान गर्ने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।