खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको नारायणी च्याप्टर गठन


खाद्य वैज्ञानिक, संघीय तथा स्थानीय निकाय, निजि क्षेत्र र अन्य सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको आयोजनामा जिल्ला नवलपुर, गैडाकोट नगरपालिका स्थित रिभर क्राउन प्लाजामा चैत २५ गते कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष डा. अतुल उपाध्यायको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारी रहेका थिए ।

कार्यक्रममा संघ अध्यक्ष उपाध्यायले स्थानिय तहमा खाद्य स्वच्छता प्रणाली लागु गर्नु पर्ने कुरामा जोड दिएका थिए भने सरकारी निकायको तर्फबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका बिमल दाहाल तथा डिभिजन कार्यलय चितवनका घननाथ अधिकारीहरुले खाद्य स्वच्छताको लागि स्थानीय सरकारको महत्वको बारेमा बताएका थिए ।

सोही कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका निबर्तमान अध्यक्ष तिलचन्द्र भट्टराईले ऐन, नियम तथा मानब संसाधनलाई परिमार्जन तथा दक्षता बिकास गर्ने कुरामा जोड दिएका थिए ।

चौधरी ग्रुपका महाप्रबन्धक खड्ग पौडेलले निजि क्षेत्रको प्रतिनिधित्व गर्दै स्थानीय उत्पादनलाइ बजारीकरण र अन्तराष्ट्रियकरण गर्न स्थानीय तहको भुमिका महत्वपुर्ण रहेको र स्थानीय तहमा खाद्य स्वच्छता तथा पोषणसँग सम्बन्धित कार्यमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ सहकार्य गर्न सधैं तयार रहेको बताएका छन् ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको नारायणी च्याप्टर गठन गर्ने उद्धेश्यले सोही सभाहलमा उक्त संस्थाको साधारणसभा आयोजना गरिएको थियो जसमा खड्ग पौडेलको अध्यक्षतामा नारायणी च्याप्टरको नयाँ कार्यसमिति गठन भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।