प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन् । अधिकारीले आफूहरुको माग सम्बोधन नभए आइतबार बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो ।
लघुवित्तविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली (मनिराम) र ६ वटा किसान सङ्गठन सञ्जालका सदस्यबीच आज छलफल भएको थियो ।
आज बिहान सङ्घर्ष समितिका पदाधिकारीले प्रधानमन्त्रीलाई उनको निवास बालुवाटारमा भेटेका थिए ।
भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रुपमै हल गर्ने र सङ्घर्ष समितिका मागहरुको अध्ययन गरी छलफल अगाडि बढाउने बारे आजै सरकारी प्रतिनिधि तोक्ने बताएका थिए ।
प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुको सङ्घर्षको कार्यक्रम तत्कालका लागि स्थगित भएको ज्ञवालीले जानकारी दिए । – रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया