भैँसी पालेर सफल उद्यमी बने डाँगी


दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४४ वर्षीया वकी डाँगीले व्यावसायिक रुपमा भैँसी पालन सुरु गरेको एक दशक भयो । यसले उनलाई आत्मनिर्भर मात्रै बनाएको छैन सफल उद्यमीको पनि पहिचान पनि दिलाएको छ ।

उनले मात्रै होइन, परिवारका दुई सदस्य पनि यसैमा संलग्न रहेको छ । त्यसबाहेक दुई जना स्थानीयलाई पनि उनले जागिर दिएको छ । “वार्षिक करिब सातदेखि आठ लाख रुपैयाँसम्म बचत गर्न सफल भएको डाँगीले बताए ।

उनको दिनचर्या मिर्मिरे उज्यालोदेखि सुरु हुन्छ र भैँसीका पाडापाडीको स्याहारमै बित्छ । परम्परागत खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फाराम दर्ता गरी व्यावसायिक भैँसीपालन सुरु गरेको हो । “सुरुमा एक लाख रुपैयाँमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हौँ, अहिले फर्ममा साना र ठूला गरी ३८ भैँसी र पाडापाडी छन्”, उनले भने ।

जसमध्ये हाल १३ वटा भैँसीले दूध दिइरहेका छन् । ती भैँसीबाट दैनिक ९० देखि एक सय लिटर दूध तुलसीपुर बजारममा डाँगी आफैले सञ्चालन गरेको डेरीमार्फत बिक्री भइरहेको छ । कोरोना महामारीमा आफूले उत्पादन गरेको दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परे पनि अहिले भने कुनै समस्या नभएको उनको भनाइ छ । दाङमा अहिले दूधको फुटकर मूल्य प्रतिलिटर १०० सय र दहीको ११० सय रुपैयाँ पर्छ ।

डाँगीको भैँसी फर्ममा हालसम्म २५ लाख रुपैयाँसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मूल बिक्रीबाट वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ । घाँसको पर्याप्त उपलब्धता नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागतखर्च बढेको पनि डाँगीको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।