नेपालको ऊर्जामा भारतीय निजी क्षेत्रको लगानी आउनेमा विश्वस्त छु : एफएनसिसिआई अध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा क्षेत्रमा भारतीय निजी क्षेत्रको ठूलो लगानी आउने बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जा क्षेत्रमा भारतीय निजी क्षेत्रको ठूलो लगानी आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा एफएनसिसिआईले भारतीय निजी क्षेत्रसँग छलफल गर्दा उनीहरू नेपालमा लगानी गर्न उत्साहित भएको पाएको उनले बताए । यसका लागि सरकारले लगानीको वातावरण बनाइ दिनुपर्ने उनको भनाइ छ ।

जलविद्युतको विषयमा धेरै पहिलेदेखि कुरा उठाउँदै आएपनि निजी क्षेत्र आएपछि मात्रै तीब्ररुपमा विकास भएको ढकालले बताए । “पूर्वाधार बनाउने कुरा होस, सिमेन्ट उत्पादन गर्ने कुरा होस, बिजुली उत्पादन गर्ने कुरा होस । सबै क्षेत्रको विकास निजी क्षेत्रलाई अघि बढाएकै कारण भएको हो,” ढकालले भने ।

भारत र बंगलादेश विद्युत निर्यातका लागि एउटा ‘ब्रेक थ्रु’ भएको र यसले नेपालको अर्थतन्त्रमा धेरै ठूलो अर्थ राख्ने पनि ढकालले बताए ।

“नेपालबाट १० हजार मेगावाट बिजुली भारतमा र भारतबाट बंगलादेश लगायतका सीमा जोडिएका देशमा पनि निर्यात गर्ने कुरा छ । यसको लागि नेपालले गरिहाल्नुपर्ने केही कुरा छन् । प्रसारणलाइन र पीपीएका कुरा तुरुन्तै सम्बोधन गर्नुपर्ने अवस्था छ,” ढकालले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।