नेपालको समृद्धिको आधार उर्जामा निजी क्षेत्रलाई विश्वास नगर्नु दु:खद: सीएनआई अध्यक्ष अग्रवाल


नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष बिष्णुकुमार अग्रवालले नेपाललाई उर्जाबाट समृद्ध बनाउन सकिने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २१ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले नेपालको समृद्धिको आधार ऊर्जा भए पनि निजी क्षेत्रलाई यसमा विश्वास नगरिनु दुखद् भएको बताएका हुन् ।

“भारतले १० हजार मेगावाट र बंगलादेशले ५० मेगावाट विद्युत किन्ने समझदारी ऐतिहासिक छ,” अग्रवालले भने, “तर नेपालमा निजी क्षेत्रलाई काम गर्न निकै अफ्ठेरो छ ।”

नेपालको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा भएपनि यसबाट बाहिर आउने आधार पनि ऊर्जा नै रहेको भन्दै अग्रवालले भने, “अहिले नेपालको सबै ध्यान ऊर्जामा केन्द्रित गर्नुपर्छ । चारतिर हात हालेर हुँदैन । नेपाललाई समृद्ध बनाउने र अहिलेको अफ्ठ्यारोबाट बाहिर निकाल्ने क्षेत्र ऊर्जा नै हो,” उनले भने ।

१० हजार मेगावाटका आयोजनाको पीपीए हुन बाँकी रहेको र अहिले पीपीए गर्दा पाँच सात वर्ष अघि निर्माण सम्पन्न नहुने हुँदा तत्काल पीपीए खोल्नुपर्नेमा पनि उनले जोड दिए ।

कुल जडित क्षमताको ५० प्रतिशत भन्दा बढी ऊर्जा उत्पादनमा संग्लग्न निजी क्षेत्रलाई सरकारले अहिले पनि विश्वास गर्न नसकेकोमा उनले दुख व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।