मेरो सेयरको पोर्टफोलियो ट्रयाकरले किन देखाईरहेको छ बुधबारको तथ्यांक ?


केन्द्रीय निक्षेप प्रणालीको अनलाइन सफ्ट्वेयर मेरो सेयरमा प्राविधिक समस्या देखिएको छ । जसका कारण लगानीकर्ताको पोर्टफोलियो ट्रयाकरले बजारको गति अनुसार सेयरको वास्तविक फोर्टफोलियो देखाउन सकेको छैन ।

पछिल्लो पटक गत बुधबार भएको अन्तिम कारोबारको विबरण मात्र पार्टफोलियोमा अपडेट भएको छ । बिहीबार परेको इदको बिदा, शुक्रबार र शनिबार बजार बन्द रहेको थियो ।

आइतबार बजार भारी मात्रामा ओरालो लागेको छ । यद्यपी लगानीकर्ताको पोर्टफोलियो भने बुधबार बजार बन्द भएको अवस्थामा नै छ । बजार ५० अंकभन्दा धेरै घटेका बेला पोर्टफोलियोमा सेयर मूल्य तथा आफ्नो लगानीको विवरण अद्यावधिक नभएपछि लगानीकर्ता झुक्किएका छन् ।

नेप्सेको अनलाइन कारोबार प्रणाली (नट्स) र मेरो सेयरको सम्पर्क बिच्छेद भएका कारण मेरो सेयरमा दोस्रो बजारमा भएको कारोबारको तथ्यांक अद्यावधिक हुन नसकेको हो । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार नेपाल स्टक एक्सचेञ्जले तथ्यांक वितरण प्रणालीमा गरेको प्राविधिक संशोधनका कारण मेरो सेयरसँग अनलाइन कारोबार प्रणालीको सम्पर्क बिच्छेद भएको हो ।

सिडिएससी प्रवक्ता सुरेश न्यौपानेका अनुसार नेप्सेले आफ्नो कारोबार प्रणालीबाट वितरण गरिरहेको डाटाको एपीआई परिवर्तन गर्दा मेरो सेयरको पोर्टफोलियो अद्यावधिक हुन नसकेको हो । नेप्सेले नयाँ एपीआई उपलब्ध गराएपछि सो अद्यावधिक गरे पछि मेरो सेयरमा डाटा अद्यावधिक हुने उनले बताए । आइतबार साँझदेखि नै यस्तो तथ्यांक अद्यावधिक गराउने गरि काम भईरहेको उनले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।