विजय र नयाँ सारथी लघुवित्तले आइतबारदेखि एकीकृत कारोबार गर्ने


विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले असार ३१ गते आइतबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

दुवै लघुवित्त संस्थाले गत बैशाख ३० गते मर्जरमा जान अन्तिम सम्झौता गरेका थिए । दुई लघुवित्तले २०७९ मंसिर २६ गते मर्जरमा जानको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि गत चैत २८ गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले पारित गरेको थियो । यससँगै दुई संस्था एक बराबर एकको स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् ।

दुई लघुवित्तको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि एकिकृत कारोबार हुने दिन (असार ३१ गते) देखि १५ कार्य दिनसम्म सेयर कारोबार रोक्का गर्ने भएको छ । नयाँ सारथी लघुवित्तको चुक्ता पुँजी ३० करोड ३३ लाख ९५ हजार २६० रुपैयाँ रहेको छ । यस्तै विजय लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको छ ।

मर्जर पश्चात् दुई लघुवित्तको चुक्ता पुँजी ६२ करोड ३३ लाख ९५ हजार २६० रुपैयाँ पुग्ने छ । यस्तै यी दुई लघुवित्तको लाभांस क्षमता २४ करोड ३५ लाख २३ हजार ७६ हजार र जगेडा कोषमा २२ करोड ७५ लाख ७१ हजार २४३ पुग्ने छ । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा नयाँ सारथी लघुवित्तका अध्यक्ष लोक बहादुर खड्का र सीईओमा विजय लघुवित्तका सीईओ वसन्त लम्साल बन्नेछन् । मर्जर पश्चात् डीसीईओमा भने नयाँ सारथी लघुवित्तका सीईओ सरोज घिमिरे बन्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।