रिलायबल नेपालको आइपीओमा आवेदन दिन छुट्यो कि !


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा जारी गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी आइपीओ निष्काशन गरेको थियो ।

इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।

सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको थियो । यस्तै कम्पनीले ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष छुट्याइएको छ । उक्त सेयर बाँडफाँड गरिसकेपछि कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता सेयर बिक्री खुला गर्ने छ ।

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५४ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले प्रिमियमबाट मात्रै १ अर्ब ७८ करोड रुपैयाँ संकलन गर्नेछ । १ करोड २० लाख कित्ताबाट संकलन हुने १ अर्ब २० करोड संकलन भएसँगै आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब पुग्नेछ ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्यूनतम ५ अर्ब रुपैयाँ पूँजी पुर्याउन कम्पनीले बोनस तथा हकप्रद सेयर निष्काशन गर्ने जनाएको छ । यद्यपी कम्पनीले आईपीओ निष्कासनबाट एक अर्ब ७८ करोड प्रिमियम संकलन गर्ने हुँदा बोनसबाटै पनि न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।