नेपालीले खाए १६ अर्बभन्दा बढीको फलफूल, स्याउ मात्रै ७ अर्बको

0
Shares

गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब रुपैयाँ भन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा १६ अर्ब आठ करोड रुपैयाँ भन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ । 
 
सात अर्ब रुपैयाँको करोड स्याउ आयात 
विभागका अनुसार गत आवमा सात अर्ब नौ करोड ४४ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरको आठ करोड ३२ लाख ७४ हजार ३३१ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले ८६ करोड ८३ लाख ८९ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । 
 
सार्वजनिक विवरणानुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ । चीनबाट मात्र पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब ९३ करोड आठ लाख ७८ हजार रुपैयाँ, अमेरिकाबाट ५० लाख ३४ हजार रुपैयाँ, स्वीजरल्याण्डबाट २७ लाख २० हजार रुपैयाँ मूल्य बराबरको स्याउ आयात भएको विवरण छ । 
दुई अर्ब रुपैयाँको अङ्गुर आयात
गत आवमा मुलुकमा दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार रुपैयाँ मूल्य बराबरका तीन करोड नौ लाख आठ हजार १७२ केजी ताजा अङ्गुर आयात भएको छ । त्यसबाट सरकारले ११ करोड एक लाख ७० हजार रुपैयाँको राजस्व सङ्कलन गरेको छ । ताजा अङ्गुर सबैभन्दा धेरै भारतबाट दुई अर्ब १३ करोड ७६ लाख ६५ हजार रुपैयाँ बराबर तथा चीन बाट दुई करोड १२ लाख तीन हजार रुपैयाँ बराबरको आयात भएको छ ।   
 
केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो
विभागका अनुसार गत आवमा एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार रुपैयाँ बराबरको केरा आयात भएको छ । कूल पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले २९ करोड ४३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ । 
 
विभागका अनुसार गत आवमा ८९ लाख चार हजार १२७ केजी अनार आयातमा ९३ करोड ४९ लाख ३५ हजार रुपैयाँ रकम बाहिरिएको छ । जसबाट सरकारले नौ करोड ४९ लाख ९० हजार रुपैयाँ राजस्व उठाएको छ ।  
 
सार्वजनिक विवरणानुसार गत आवमा ८८ करोड १८ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ । त्यस्तै एक करोड ५५ लाख ५१ हजार तीन सय ६८ केजी अम्बा तथा आँप आयातमा ७० करोड दुई लाख ७२ हजार रुपैयाँ बाहिरिएको छ । साथै दुई करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि ६८ करोड ९५ लाख ४० हजार रुपैयाँ बराबर रकम बाहिरिएको छ ।  
 
नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार तीन सय आठ केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य  ३० करोड ९० लाख ८१ हजार रुपैयाँ बराबर छ । 
 
यस अवधिमा १३ करोड ६२ लाख ५८ हजार रुपैयाँ बराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा १२ करोड ३६ लाख २६ हजार रुपैयाँ खर्च बाहिरिएको छ । 
 
त्यस्तै नौ करोड ४५ लाख ७८ हजार रुपैयाँ बराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोगाडो आयात भएको छ भने सात करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको चार लाख १० हजार तीन सय २२ किलो किबी आयात भएको छ । 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।