सूचीकृत कम्पनीले समयमै विवरण पेस नगरे धितोपत्र बोर्डले कारबाही तथा जरिवाना गर्ने

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका कम्पनीहरूले समयमै सूचना, जानकारी तथा विवरण पेस नगरे कारबाही तथा जरिवाना गर्ने भएको छ ।

धितोपत्र दर्ता गराएका संगठित संस्थाहरूले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरू सो त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डसमक्ष पेस गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेछ ।

बोर्डले बिहीवार सूचना जारी गर्दै आगामी दिनमा सूूचीकृत कम्पनीहरूले पेस गर्नुपर्ने सूचना, जानकारी तथा विवरणहरू धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम कारबाही तथा जरिवाना गरिने बताएको हो । बोर्डले सूचीकृत कम्पनीहरूबाट संकलन गर्नुपर्ने विवरणलाई व्यवस्थित गर्न कडाइका साथ उक्त व्यवस्था लागू गर्न लागेको हो । 

बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरूले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महीनाभित्र बोर्डमा पेस गर्नुपर्नेछ ।

साथै, सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) बमोजिम अनुपालना प्रतिवेदनको मुख्य मुख्य बुँदाहरू सहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्नेछ ।

सूचीकृत संगठित संस्थाहरूले सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई तीन दिनभित्र बोर्डमा पेस गर्नुपर्नेछ । धितोपत्रसम्बन्धी कानूनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरणहरु उल्लेखित समयमा नै पेस गर्नुपर्ने निर्देशन बोर्डको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।