भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा निष्काशन गरेको आईपीओमा स्थानिय वासिन्दाले आजसम्म मात्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
उक्त आइपीओमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्ने छन् । आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीका सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको बारेमा
कम्पनीले कास्की जिल्लाको विजयापुर खोलामा ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ ।
आयोजनाको विद्युत उत्पादन अनुमति बहाल अवधि २२ वर्ष ५ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया