महको पकेट क्षेत्र बन्दै पोखराको अर्मला क्षेत्र


पोखरा महानगरपालिका–१६स्थित कृषि सञ्जाल यतिखेर अर्मला क्षेत्रलाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियानमा जुटेको छ । बाँझो रहेको जग्गामा वन विस्तार भई मौरीका लागि चरन क्षेत्र बढेसँगै महानगरको ५० प्रतिशत अनुदानबाट यहाँका किसान मौरीपालनतर्फ आकर्षक भएका हुन् ।

तेईस लाख ४६ हजार सात सय ७० रुपैयाँ बराबरका ६६ घरपरिवारलाई ९३ थान मौरीसहितको घार वितरण गरिएको कृषि सञ्जालका अध्यक्ष जीतबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार यस कार्यका लगि महानगरबाट प्राप्त ११ लाख ९५ हजार सात सय ३० रुपैयाँ अनुदान र किसानबाट सङ्कलित एघार लाख ५१ हजार ४० लगानी भइसकेको छ । गत जेठ महिनामा वितरण गरिएका घारबाट किसानले पहिलो पटक मह उत्पादन सुरु गरेका छन् ।

उक्त सञ्जालले मौरी पालनसम्बन्धी विभिन्न तालिमसमेत प्रदान गर्दै आएको उनको भनाइ थियो । मौरीसहितका छ घार खरिद गरिएको बताउनुहुने पोखरा–१६ स्थित महेन्द्र गुफा चोककी निर्मला बस्नेतले उत्पादित मह बिक्री पनि गरिसकेको बताइन् ।

घरमा दुई वर्षअघि खरिद गरेको घार थियो, मह उत्पादन पनि राम्रै भएको उल्लेख गर्दै उनले भनिन्, “अनुदानमा पाएको घारका साथै सुरक्षा सामग्री र सूर्यमुखी फूलको बीउले मौरी पालनका लागि थप उत्साही बनाएको छ । यस अघिका घारबाट उत्पादित मह पनि प्रतिकेजी एक हजार पाँच सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।”

“महानगरले एक घार बीउ मौरी दिएर मात्र हुँदैन, घार विस्तार गरी नयाँ घार खरिदमा पनि अनुदानको व्यवस्था गर्नु अपरिआर्य छ” बस्नेतले थपिन्,“एउटा खाली घारलाई चार हजार पाँच सय पर्छ किसानले आप्mनो लगानीलाई कहिले व्यवसायमा परिणत गर्ने ?” अर्मला डिहीकी रामलक्ष्मी गुरुङले भनिन्,“घर छेउको बारीमा चार वटा मौरीका घार छन् मह बिक्रीबाट बार्षिक ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ, बीस घार पु¥याएर चार लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्ने सोच छ । उत्पादित मह बिक्री हुदैन की भन्नुपर्दैन विदेशबाट आएको माग पनि पु¥याउन नसकेको बताउँदै सञ्जालको सदस्यसमेत रहेकी गुरुङले भनिन्,“मह काट्न, घार फुटाउन र सरसफाइ गर्नका लागि पनि तालिम लिएकी छु सबै काम आँफै गर्दछु ।”

मौरीलाई कृतिम आहार दिनुपर्दैन चरन पर्याप्त भएका कारण प्राङ्गारिक मह उत्पादन गर्दै आएको छ तर जङ्गलका बारुला, अरिङगाल, खपटे कीरालगायतले दुःख दिने गरेको उनले बताइन् । सोही क्षेत्रका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाका अनुसार अर्मलालाई कृषिको हव बनाउने लक्ष्यका साथ मौरीसहित तरकारी, पशुपालन, आलुको बीउ उत्पादनलगायत क्षेत्रमा अनुदानको व्यवस्था गरेर किसनालाई प्रोत्साहन गर्दै आइएको छ ।

आगामी दिनमा किसानलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने खालका कार्यक्रममा जोड दिइने उनको भनाइ थियो । पोखरा महानगरपालिकाका ३३ वटै वडामा कृषि सञ्जाल गठन गरी सम्भाव्यता र माग अनुसारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । महानगरको एक वडा एक उत्पादन अभियानअन्तर्गत वडा नंं १६ लाई मौरीको पकेट क्षेत्रको रुपमा विकास गरिएको छ भन्दै उक्त वडामा हालसम्म दुई सयभन्दा बढी घार अनुदानमा वितरण गरिएको उनले बताए ।

महानगरले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ गत आर्थिक वर्षमा छ करोड रुपैयाँ कृषि क्षेत्रमा विनियोजन गरेर प्रत्यक्ष किसान समक्ष पु¥याउन सफल भएको प्रमुख कडरियाको जिकिर थियो । रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।