तनहुँका नयाँ उद्योगको पुँजी एक अर्ब २५ करोड, बाह्र लाख राजस्व सङ्कलन


तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी एक अर्ब २५ करोड रुपैयाँ भन्दा बढी छ । आर्थिक वर्ष २०७९\८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रुपैयाँ रहेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ ।

त्यसमध्ये स्थिर पुँजी ६५ करोड ९५ लाख ७९ हजार पाँच सय रुपैयाँ र चालु पुँजी ५९ करोड ६१ लाख ५० हजार रुपैयाँ रहेको कार्यालयका प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार दर्ता भएका उद्योगमा चार सय पाँच महिला र दुई सय २३ पुरुष गरी छ सय २८ जनाले रोजगारी पाएका छन् । त्यस्तै तीन सय ९२ महिला र दुई सय ७४ पुरुष गरी छ सय ६६ उद्यमी बनेका कार्यालयले जनाएको छ ।

उक्त अवधिमा ५० उत्पादनमूलक उद्योग दर्ता भएकामा १४ करोड ९८ लाख रुपैयाँ , तीन सय १८ कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता भएकामा ८३ करोड छ लाख ७९ हजार पाँच सय रुपैयाँ , एक सय १९ पर्यटन उद्योग दर्ता भएकामा १२ करोड ६९ लाख ५० हजार रुपैयाँ, एक सय १० सेवामूलक उद्योग दर्ता भएकामा १३ करोड तीन लाख रुपैयाँ , तीन पूर्वाधार उद्योग दर्ता भएकामा एक करोड ५० लाख रुपैयाँ र तीन सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योग दर्ता भएकामा ३० लाख रुपैयाँ पुँजी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।

कार्यालयका अनुसार उत्पादनमूलक उद्योगमा ६०, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा तीन सय २५, पर्यटन उद्योगमा एक सय ३२, सेवामूलक उद्योगमा ९८, पूर्वाधार उद्योगमा छ र सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा सात जनाले रोजगारी पाएका छन् । ती उद्योगको वार्षिक उत्पादन क्षमता एक अर्ब २० करोड ४४ लाख १४ हजार रुपैयाँ एक रहेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ ।

बाह्र लाख राजस्व सङ्कलन

कार्यालयले उद्योग दर्ताबापत १२ लाख २७ हजार नौ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उत्पादनमूलकतर्फ एक लाख २१ हजार रुपैयाँ, कृषि तथा वन पैदावरमा आधारित उद्योगतर्फ सात लाख १६ हजार नौ सय रुपैयाँ , पर्यटनतर्फ एक लाख ७० हजार रुपैयाँ , सेवातर्फ एक लाख ८५ हजार रुपैयाँ , पूर्वाधारतर्फ १५ हजार रुपैयाँ र सूचना तथा सञ्चार प्रविधिमा आधारिततर्फ रू २० हजार राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।

कृषि उद्योगमा आकर्षण

कार्यालयमा उक्त वर्ष उद्योग दर्ता घटे पनि कृषि तथा वन पैदावरमा आधारित उद्योगमा भने आकर्षण बढेको छ । देशको पछिल्लो आर्थिक अवस्थाको असरका कारण उद्योग स्थापना गर्नेक्रम घटेको हुनसक्ने कार्यालय प्रमुख सुवेदीको भनाइ छ ।

आर्थिक वर्ष २०७८\७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका उनले बताए । आव २०७९\८० मा जिल्लामा सबैभन्दा बढी कृषि तथा वन पैदावरतर्फ तीन सय १८ उद्योग दर्ता भएका सुवेदीले जानकारी दिए । उनका अनुसार आव २०७९\८० मा वाणिज्यतर्फ नौ सय ९८ फर्म दर्ता भएका छन् भने एक हजार ७२ नवीकरण, २५ नामसारी, छ ठाउँसारी, एक सय ६४ को पुँजीवृद्धि, २२ को नाम परिवर्तन, ६३ को उद्देश्य थप भएका छन् ।

जिल्लामा दर्ता हुने उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ धेरै हुने गर्दछ । कृषि उद्योगतर्फ युवाको आकर्षण बढेकाले यसतर्फ धेरै उद्योग दर्ता भएको प्रमुख सुवेदीको भनाइ छ । उनले भने, “वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ ।” उनका अनुसार कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारीखेतीतर्फ आकर्षण बढ्दो छ ।

गत आव २०७८\७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएको थियो । त्यसमध्ये उत्पादनमूलक एक सय छ, कृषि तथा वन पैदावरमा आधारित आठ सय १०, पर्यटनतर्फ दुई सय ५६, सेवातर्फ दुई सय ३८ र सूचना प्रविधिमा आधारित चार उद्योग रहेका कार्यालयले जनाएको छ । आव २०७७\७८ मा दुई हजार एक उद्योग दर्ता भएको थियो । रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।