सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो ।
त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुमपश्चिमका लागि ५०\५० करोड रुपैयाँ निकासा भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । उनका अनुसार बझाङका लागि २५ करोड रुपैयाँ, बाजुराका लागि १४ करोड रुपैयाँ र सल्यानका लागि दुई करोड रुपैयाँ रकम निकासा भएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गत कात्तिक २६ को निर्णयबाट भूकम्पप्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८० स्वीकृत भएको थियो ।
उक्त कार्यविधिले निर्दिष्ट गरेको भूकम्पप्रभावित लाभग्राहीको अस्थायी आवास निर्माणको पहिलो किस्ता दिने प्रयोजनका लागि उक्त रकम निकासा गरिएको खड्काले बताए ।
उक्त रकम स्थानीय तहमार्फत लाभग्राही पहिचान गरी सम्बन्धित पालिकामार्फत जानेछ । प्राधिकरणले उल्लिखित कार्यविधि तथा प्रचलित कानुनले तोकेअनुसार लेखा राख्ने, लेखा परीक्षण गर्ने र गराउने व्यवस्था गर्न आदेशानुसार अनुरोध पनि गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया