नेपालगञ्ज नाकाबाट करिब १८ अर्बको वैदेशिक व्यापार


चालु आर्थिक वर्ष २०८०\८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगञ्ज जमुना भन्सार नाकाबाट १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

उक्त अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले जानकारी दिए ।

गत आर्थिक वर्षमा रु ४४ करोड १७ लाख ९६ हजारको मात्रै निर्यात भएको उनले सुनाए । पछिल्लो तीन महिनामा भारतबाट मात्रै १५ अर्ब २९ करोड ७८ लाख ८४ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको छ । जुन कूल आयातको ९३.१९ प्रतिशत हो ।

त्यस्तै नेपालगञ्ज नाका हुँदै ५३ करोड ६५ लाख ८८ हजार रुपैयाँ अर्थात् कूल निर्यातको ९८।८२ प्रतिशत हिस्सा भारतले नै ओगटेको छ । भन्सार कार्यालयले दिएको जानकारी अनुसार दोस्रो धेरै निर्यात हुने देशको सूचीमा युनाइटेड अरब इमिरेट्स र म्यानमार रहेको छ । नेपालगञ्ज नाका हुँदै भारत, बेलायत, मलेसिया, म्यान्मा, चाइना, भियतनाम, बेल्जियम, इटली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, साउदी अरेबिया, सिङ्गापुरसहित २१ देशबाट सामान आयात भएको कार्यालय प्रमुख विकले बताए ।

यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स र म्यान्मासँग मात्रै निर्यात व्यापार हुने गरेको छ । नेपालगञ्ज नाका हुँदै भारतलगायतका देशबाट इन्धन, खाद्यान्न, मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुन्छ । यस नाकाबाट विशेषगरी जडिबुटी, प्लाइउडसहित १७ प्रकारका सामग्री निर्यात हुँदै आएको भन्सार कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ७ मंसिर २०८०, बिहिबार  ०६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।