मुक्तिनाथ कृषिको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला, वित्तीय अवस्था भने कमजोर


मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणको लागि निष्काशन गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

कम्पनीले १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि वितरण गरिसकेको छ । यस्तै कुल निष्काशन अनुमती पाएको कित्ताको ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओका लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ।

नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको वित्तीय अवस्था कमजोर

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था अस्थीर देखिएको छ । चार वर्षअघि सञ्चित नाफामा रहेको कम्पनीको अवस्था निरन्तर खस्किएर सञ्चित नोक्सानी र प्रतिसेयर नेटवर्थ समेत अंकित मूल्यभन्दा धेरै तल झरेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

आव २०७६–७७ मा १०९ रुपैयाँ प्रतिसेयर नेटवर्थ र वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ १ पैसा रहेको कम्पनीको आव २०७८–७९ मा आइपुग्दा प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ८१ पैसा र वार्षिक प्रतिसेयर आम्दानी २८ रुपैयाँ ५४ पैसा ऋणात्मक रहेको छ । गत आर्थिक वर्ष २०७९–८० मा कम्पनीको ४ करोड ८३ लाख ८७ हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ । गत आवमा कम्पनीले वार्षिक प्रतिसेयर आम्दानी वार्षिक ३ रुपैयाँ ४८ पैसा कायम गर्दा प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ३२ पैसा मात्र छ ।

कम्पनीले गरेको प्रक्षेपण अनुसार चालु आवमा कम्पनीले ६२ लाख ७२ हजार, आव २०८१–८२ मा ५ करोड ६१ लाख र आव २०८२–८३ मा १० करोड ७७ लाख रुपैयाँ सञ्चित नाफा आर्जन हुनेछ । सो अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी क्रमशः ८।७३ रुपैयाँ, १४।३० रुपैयाँ र २२।९६ रुपैयाँ कायम हुने कम्पनीको आंकलन छ । यस्तै अबको तीन वर्षपछि आव २०८२–८३ मा पुग्दा कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर ११३ रुपैयाँ ७९ पैसा रहने अनुमान छ ।

कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो आव २०७८।७९ मा कम्पनी ६ करोड ७९ लाख रुपैयाँ सञ्चित नोक्सानीमा गएको थियो । सोभन्दा अघि कम्पनीले आव २०७७–७८ मा १ करोड ३१ लाख ९९ हजार र आव २०७६–७७ मा १ करोड ७० लाख १९ हजार सञ्चित मुनाफामा थियो । आव २०७६–७७ मा प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ४६ पैसा रहेकोमा २०७७–७८ मा १०५ रुपैयाँ २६ पैसामा झरेको थियो भने आव २०७८–७९ मा अझै घटेर ७८ रुपैयाँ ८१ पैसामा झरेको थियो । प्रकाशित विवरणपत्र अनुसार आव २०७६–७७ मा प्रतिसेयर आम्दानी ३ रुपैयाँ १ पैसा रहेकोमा २०७७–७८ मा १८ पैसामा झरेको थियो भने आव २०७८–७९ मा अझै बढेर २८ रुपैयाँ ५४ पैसा ऋणात्मक बनेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।