वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घट्यो, हमास इजरायल युद्ध मुख्य कारण


चालु आर्थिक वर्षको पहिलो चार महीनामा वैदेशिक रोजगारमा जानेको संख्या उच्च दरमा घटेको छ । हमार र इजरायलत द्धन्द्धका कारण बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको हो । 

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०\८१ को पहिलो चार महीनामा श्रम स्वीकृति लिएर २ लाख ६ हजार ३१६ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४५ प्रतिशले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिमा २ लाख ८० हजार ५ सय १८ नेपाली  वैदेशिक रोजगारीका लागि बाहिरिएका थिए ।

हमास र इजराय युद्धका कारण गल्फ कन्ट्रीहरुमा रोजगारीका लागि जानेको संख्या घटेको देखिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतिले बताए । “इजरायल र प्यालेस्टिन युद्धका कारण अहिले घटेको जस्तो देखिएको मात्र हो,” उनले भने,“मंसिरमा यो संख्या ह्वात्तै बढ्छ ।” चालु आवमा वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या एक लाख ७९ हजार ७६७ जना पुरुष रहेको छ भने २६ हजार ५४९ महिला रहेका छन् । गत आवमा भने वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या २ लाख ५४ हजार ११ थियो भने महिलाको संख्या २६ हजार ५०७ थियो ।

विभागका अनुसार चालु आवको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४ असोजमा ५६ हजार २३५ जना र कात्तिकमा ४३ हजार ६२२ जना वैदेशिक रोजगारीमा गएका छन् । गत वर्षको सोही अवधिमा भने साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३ असोजमा ६२ हजार ७०६ जना, कात्तिकमा ७८ हजार ३७० जना वैदेशिक रोजगारीमा गएका थिए ।

युएई जाने धेरै

वैदेशिक रोजगारीमा जाने मध्ये धेरैको रोजाइमा संयुक्त अरब इमिरेट्स (युएई) परेको छ । वातावरण अनुकुल पर्ने र सेवा, सुविधा पनि राम्रो भएको कारणले युएईमा रोजगारीका लागि जानेको संख्या धेरै भएको हो । चालु आवको कात्तिक महिनामा मात्रै युएई जान १२ हजार ४८५ जनाले श्रम स्वीकृती लिएका छन् ।

युएई पछि दोस्रो रोजाइमा कतार रहेको छ । सो अवधिमा कतार जान ८ हजार ४६२ जनाले श्रम स्वीकृती लिएका छन् । यस्तै साउदी अरबका लागि ८ हजार १४ जनाले र मलेसियाका लागि ५ हजार ५५२ जनाले श्रम स्वीकृती लिएका छन् । यस्तै कुवेत जान २ हजार ९८, क्रोएसिया जान १ हजार १६२, जापान जान ८७०, माल्दिस्स जान ६२८, बहराइन ५०४, मउरिसस जान ४१९ जनाले श्रम स्वीकृती लिएका छन् ।

जिल्ला अनुसारको श्रम स्वीकृति

चालु आर्थिक वर्षको कत्तिक महीनामा झापाबाट सबैभन्दा धेरैले श्रम स्वीकृती लिएका छन् । झापाबाट २ हजार १०८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृती लिएका छन् । यस्तै धनुषाबाट २ हजार ५७ जनाले विदेशमा रोजगारी गर्नको लागि श्रम स्वीकृती लिएका छन् । मोरङबाट १ हजार ९३०, सिराहाबाट १ हजार ५९४, महोत्तरीबाट १ हजार ४५०, रुपन्देहीबाट १ हजार ४११, सोलुखुम्बुबाट १ हजार ३२९, चितवनबाट १ हजार २०६, तनहुँबाट १ हजार ९०, सर्लाहीबाट १ हजार ६७ र स्याङ्जाबाट १ हजार ५१ जनाले श्रम स्वीकृती लिएका छन् । यता काठमाण्डौं, ललितपुर र भक्तपुरबाट भने क्रमशः ६८४, ३०१ र २५० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती लिएका छन् ।

सीप नसिकी बाहिरिए ८ हजार

कार्यगत सीप बिनै वैदेशिक रोजगारीमा जाने क्रम अझै पनि रोकिन सकेको छैन । कात्तिक महिनामा पनि ८ हजार ४६९ जना नेपाली श्रमिक बिना कुनै सीप रोजगारीका लागि बाहिरिएका छन् । यसरी सीप नसिकी बाहिरीनेमा ७ हजार १४० पुरुष रहेका छन् भने १ हजार ३२९ जना महिला रहेका छन् ।

सीप नसिकी विदेश नजान विभागले पटक पटक आग्रह गर्दै आएको भएपछि अन्धधुन्ध बाहिरिने क्रम जारी छ । सीप बिनै रोजगारका लागि विदेशिँदा समस्याहरु आउने गरेको सूचना अधिकारी उप्रेतीले बताए । कतिपयले सीप नसिकेका कारण उता गएर रोजगारी नपाउने, पाए पनि काम अनुसारको तलब नपाउने जस्ता समस्या हुने गरेको उनको भनाइ छ ।

यता कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये केही न केही काम सिकेर दक्ष भई विदेश जाने नेपालीको संख्या ३० हजार ८३२ जना रहेको छ । भदौ महिनामा केही मात्रामा काम सिकेर जाने नेपालीको संख्या ४ हजार १८४ जना छ भने ८६ जना प्रोफेसनल बाहिरिएका छन् । यस्तै उच्च दक्ष योग्यता हासिल गरेका ५१ जना बाहिरिएको वैदेशिक विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।