मुक्तिनाथ कृषिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?


मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गतेदेखि निष्काशन गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

कम्पनीले १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि वितरण गरिसकेको छ । यस्तै कुल निष्काशन अनुमती पाएको कित्ताको ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार सोमबार साँझसम्ममा १० लाख ५७ हजार ८ सय २८ जनाले १ करोड १५ लाख २३ हजार १ सय ५० कित्ताका लागि आवेदन परेको छ । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।