शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्सले एक करोड १६ लाख कित्ता सेयर निष्कासन गर्ने


शिवम् सिमेन्ट् लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ५ अर्ब ८० करोड रूपैयाँको २० प्रतिशत बराबर हुने १०० रूपैयाँका दरको एक करोड १६ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने भएकोे हो ।

कम्पनीले जारी पूँजी ५ अर्ब ८० करोड रूपैयाँमध्ये संस्थापकहरु तर्फ ८० प्रतिशत अर्थात् ४ अर्ब ६४ करोड रूपैयाँ छुट्याई र सर्वसाधारणतर्फ १ अर्ब १६ करोड रूपैयाँ शेयर पूँजी प्रिमियम मूल्यमा निष्कासन गर्ने छ ।

कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा रहेका व्यक्तिहरुको व्यक्तिगत शेयर करिव १५ प्रतिशत लगानी रहेको छ ।

शिवम् होल्डिङस् लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारदाको उपस्थितीमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरिएको थियो ।

उक्त सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।

शिवम् होल्डिङ्स २०७१ सालमा प्रालि कम्पनी अन्तरगत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको र नेपालको सबै भन्दा ठूलो सिमेन्ट तथा किलङकर उत्पादन क्षमता भएको कम्पनीले दाबी गरेको छ । अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, जुन उद्योगले वेष्ट हिटको उपयोग गरेर करिव १२ मेघावाट विद्युत समेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको पनि कम्पनीले जनाएको छ ।

यस्तै, कन्भेयरवेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको चिनियाँ विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्ट प्रालि, विनयी त्रिवेणी गाँउपालिका सर्दी,पूर्वी नवलपरासीमा अवस्थित कम्पनीमा ३० प्रतिशत शेयर रहेको उक्त उद्योग विगत ५ वर्षदेखि पूर्ण संचालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको छ र उक्त शेयर लगानी गरेको कम्पनीबाट प्रतिफल समेत प्राप्त गर्न शुरु गरिसकेको बताइएको छ ।

कम्पनीले आफ्नो शेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफा समेत प्राप्त गरेको छ भने शेयर जारी गरी सर्वसाधारणबाट संकलन हुने प्रिमियम मूल्य सहितको रकम अन्य उपयुक्त परियोजनाहरु जस्तै हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य उद्योगलगायतका क्षेत्रमा समेत शेयर लगानी विस्तार गर्ने योजना रहेको समेत विज्ञप्ति मार्फत जनाइएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार  १४ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।