कोकाकोलाको “कोक बडी” एप सार्वजनिक, वितरण प्रणाली सहज बनाउने


कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ “कोक बडी” एप लन्च गरेको छ । बुधबार एक कार्यक्रमका बिच कोकाकोला नेपालले खुद्रा तथा थोक बिक्रेतालाई सहज रुपमा जोड्ने र अर्डर लिने तथा डेलिभरी दिने सुविधा सहितको एप लञ्च गरेको हो ।

रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडो भन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकुन् भन्ने उद्धेश्यले यो एप लन्च गरिएको कम्पनीले जनाएको छ । नेपालभरका २५६ वितरकहरू र १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका–कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ ।

“कोका–कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सन्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो, जसले वितरक र आउटलेटहरू बीच रियल–टाईम कनेक्टिभिटिलाई कायम राख्दछ । यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिबिलिटि सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरु दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ,” कम्पनीले भनेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक नाथ सेन्थिलले एप लञ्च गर्दै भने, “हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि वर्षको ३६५ दिन नै चौबिसै घण्टा चाँडो भन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठुलो परिवर्तन हो । यो एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौँ ।”

अब कुनै आउटलेटले कोका–कोलाको कुनै पनि पेय पदार्थहरु अर्डर गर्नको लागि केवल प्ले–स्टोर वा एप–स्टोरमा गएर कोक बडी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटको रूपमा दर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लग–इन गर्न सक्छन् । त्यसपछि उनीहरूले अफुले अर्डर गर्न चाहेको उत्पादन छनोट गर्नासाथ डिस्ट्रिब्युटरको सिस्टममा आउँछ र उनीहरुको अर्डर तुरुन्तै प्रोसेस हुन्छ । आउट्लेटहरुको डिजिटल एक्स्पिरियन्सलाई अझै सुधार गर्न र उनीहरुको कार्य विधीलाई अझै प्रभावकारी बनाउन क्युआर कोडबाट मात्र भुक्तानीहरु लिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै कोका–कोला बेभरेजेज नेपालका व्यवसाय निर्देशक युनुस रियादीले भने, “सुविधाजनक रुपमा अर्डर गर्ने एप – कोक बडी विशेष रूपमा हाम्रा रिटेलरहरूका लागि तयार पार्दा हामी धेरै उत्साहित छौँ । यस एप मार्फत अब तपाईंहरुले कोका–कोलाको कुनै पनि पेय पदार्थहरू जुनसुकै समयमा र जहाँ पनि चौबिसै घन्टा अर्डर गर्न सक्नुहुनेछ । चाँडो अर्डर गर्न मिल्नुको साथै यस एपले तपाईंहरूको खरिद व्यवहारमा आधारित प्रडक्ट रेकमेण्डेशन, कूलरका बारेमा प्रश्नहरूदेखि अन्य प्रमोशनल अफरद्वारा ग्राहक समर्थन पनि प्रदान गर्दछ । हामी आशा गर्दछौं कि अर्डर गर्ने यस नयाँ डिजिटलाइज्ड तरिकाको हाम्रा रिटेलरहरूले पुर्ण रुपमा आनन्द लिनुहुनेछ।”

कोक बडी एप प्रयोग गर्दाको आफ्नो अनुभवबारे काठमाडौंको वनस्थलीस्थित धौलागिरी मार्टका सञ्चालक विश्वास कर्माचार्यले लामो समयदेखि कोका–कोलाका पेय पदार्थहरू बिक्री गर्दै आएको र कोक बडी एपले अर्डर गर्न धेरै सहज भएको अनुभव सुनाएका थिए । यसले आफ्ना ग्राहक स्टोरकै अरु काममा पनि बढी ध्यान दिन पाएको सुनाएका उनले समयको बचत भएको बताए । “कोक बडी एपमार्फत मैले लेटेस्ट स्किमहरुको बारेमा पनि जानकारी पाइरहेको हुन्छु र तुरुन्तै अर्डर गर्न पनि सक्छु,” उनले भने ।

कोक बडी एपबाट जहाँबाट पनि जुन सुकै समयमा एक मिनेटमा अर्डर गर्न सकिन्छ । त्यस्तै एपमा रियल–टाईम अर्डर म्यानेजमेन्ट, इन्भेन्टरी ट्रयाकिङ गर्नुको साथै प्रमोशन र मार्केटिङको लागि पनि सपोर्ट उपलब्ध हुन्छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।