नबिल बैंकले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने


नबिल बैंक लिमिटेडले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ निष्काशन गर्न लागेको हो । यस ऋणपत्रका लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् ।

बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरका ३ अर्ब मूल्यको ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिइएको थियो । यसअनुसार बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका १२ लाख इकाई अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी १८ लाख इकाई बराबरको १ अर्ब ८० करोड मूल्यको ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ । सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । मंसिर २९ गतेदेखि आवेदन खुला गरिएको ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिसम्म आवेदन नपरेमा निष्काशन अवधि ढिलोमा पुस १३ गतेसम्म लम्बिने छ ।

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखाहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।