मौरीपालन व्यवसायबाट मनग्य आम्दानी


बागलुङ नगरपालिका-१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छन् ।

उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो । उनले भनिन्,’बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेकी हुँ । यसमा श्रीमान्को साथ र सहयोग पनि रहेको छ ।’

अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार छन् । उनले ले बाख्रापालनभन्दा मौरीपालनबाट राम्रो आम्दानी भएको बताइन् । उनले वर्षमा पाँच सय ५० किलोग्राम मह उत्पादन हुँदै आएको बताइन् ।

‘परिवारको सहयोग छ, आफैँ मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मौरी बिक्रीका लागि बजार पुग्न पर्दैन, भैरवस्थान मन्दिर दर्शनका लागि आएकाले खरिद गरेर लैजान्छन्’,किसान पाठकले भनिन्,’४५ बाख्रासमेत पालेको थिएँ, तर बाख्रा पाल्न अलि धेरै खर्च हुनेरहेछ, अहिले १० वटामात्रै बाख्रा छन्, मौरीपालनमा चोखो आम्दानी छ, त्यसका साथसाथै तरकारी खेतीसमेत गर्दै आएको छु ।’

उनले ससुराबुवा देवीप्रसाद पाठकले परम्परादेखि पाल्दै आएको मुडेघारको मौरीलाई तीन वर्षअघिदेखि व्यावसायिक बनाउन थालेकी हुन् । घरमा अझै पनि केही मुडेघार छन् । बाख्रापालनका लागि दुई सयवटा राइखन्यूका बिरुवा लगाइएको र आगामी दिनमा बाख्राको सङ्ख्यासमेत बढाउँदै लैजाने गरी आधुनिक खोर व्यवस्थापनसमेत गरिएको छ ।

पचासवटा बाख्रा अट्ने गरी खोर व्यवस्थापन गरिएको पाठकको भनाइ छ । ‘बाख्रालाई भन्दा केही सहज छ मौरीपालन, मौरीपालनमा जोखिम भए पनि आम्दानी राम्रो छ, गत वर्ष एक लाख ५० हजार रुपैयाँ बराबरको अनुदानसमेत पाएको थिएँ’, उनले भनिन्,’४५ घारबाटै वार्षिक छ लाख रुपैयाँ बढी कमाउन सकिनेरहेछ, त्यसैले बाख्रापालनमा भन्दा मौरीपालनमा बढी ध्यान दिन थालिएको छ, आगमी दिनमा एक सय मौरीका घार पुर्याउने हाम्रो परिवारको योजना छ ।’

मौरीपालनलाई रोगबाट जोगाउन सकेमात्र पुग्ने उनको भनाइ छ । महिला अगाडि बढेर बाख्रापालन र मौरीपालनमा लाग्दा परिवारको राम्रो सहयोग मिलेको बताउँदै आयआर्जनका लागि महिला अग्रसर हुन आवश्यक रहेको पाठकको भनाइ छ । चार वर्षअघि कुश्मा पुगेर मौरीपालन तालिम लिएपश्चात मौरीपालनमा लागेकी पाठकले यसबाट राम्रो आम्दानी गर्न थालेपछि दंग भएकी छन् ।

अहिले प्रतिकेजी एक हजार दुई सय रुपैयाँमा मह बिक्री भइरहेको बताउँदै पाठकले बजारको समस्या नरहेको जानकारी दिइन् । अग्र्यानिक मह उत्पादन गर्नसके बजारको चिन्ता लिन नपर्ने उनको भनाइ छ । उनको फार्ममा बलेवामै उत्पादन भएको बलेवा मौरीपालन उद्योगको आधुनिक घार र जसन घार भारतबाटसमेत निर्यात गरिएको छ । मौरीलाई चिसोबाट जोगाउन जस्ताको छाना लगाइएको मौरीपालक किसानको भनाइ छ ।

कोट भैरव कृषि मौरी र पशुपक्षी फार्ममा गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्रले मह उत्पादन वृद्धि कार्यक्रमअन्तर्गत एक लाख ५० हजार रुपैयाँ अनुदानसमेत दिएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिइन् । उनले बागलुङमा महको उत्पादन बढाउन आधुनिक मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार  ०८ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।