बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा


सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।

गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिए । उनका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गोलभेँडाले बजार नपाउँदा भने निकै निरास भएका छन् ।

गत वर्ष तीन लाख सत्तरी हजारको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष एक लाख रुपैयाँको पनि बिक्री नभएको बताए । “बीउ, गोडमेल, औषधिलगायतमा करिब तीन लाख रुपैयाँ जति खर्च भएको छ”, उनले भने, “गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो । करिब  छ लाख बराबर रुपैयाँको उत्पादन भए पनि लगानी उठाउन समस्या छ ।”

इन्द्रबहादुर पुरीले गतवर्ष तीन सय क्रेट बेच्दा दुई लाख १० हजार रुपैयाँ नाफा भएकामा यस वर्ष पाँच सय क्रेट बेच्दा नाफा हुन नसकेको गुनासो गरे । उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उनको भनाइ थियो ।

गतवर्ष दुई लाख २३ हजार रुपैयाँको गोलभेँडा बेचेका खिनकुमारी बस्नेतले यस वर्ष झण्डै एक लाख रुपैयाँ घाटा व्योहर्नुपरेको सुनाए । वैदेशिक रोजगारीबाट फर्किएर गोलभेँडा खेतीमा लागेका राजेन्द्र बस्नेतले यसवर्ष ज्याला पनि नउठ्ने जानकारी दिए ।

नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँँग समन्वय गरेर गोलभेँडाको सश, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिए । उनले यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागिएको बताए । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार  १२ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।