एनआईसी एसिया बैंकले साना किसान विकास लघुवित्तको संस्थापक सेयर बिक्री गर्ने


एनआईसी एसिया बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

उक्त सेयरमा साना किसान सहकारी संस्थाहरु तथा अन्य विद्यमान संस्थापकहरुले आवेदन दिन सक्ने छन् । आम सर्वसाधारणले भने उक्त सेयर खरिद गर्न पाउने छैनन् । शेयरको प्रति कित्ता न्यूनतम मुल्य ३४८ रुपैयाँ तोकिएको छ । सेयरधनीहरुले आज मंसिर २४ गतेदेखि पुस २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।

३५ दिन भित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । बोलपत्र आवेदन फारम एन आई सी एशिया क्यापिटल लिमिटेडबाट लिन सकिने छ ।

यस्तै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयहरु बिर्तामोड–झापा, इटहरी–सुनसरी, बर्दिबास–महोत्तरी, हेटौडा–मकवानपुर, गजुरी–धादिङ, पोखरा–कास्की, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, बबरमहल–काठमाडौं, लहान–सिराहा, अत्तरिया–कैलालीबाट प्राप्त गर्न सकिने छ ।

कुल शेयर पूँजीको अधिक हिस्सा तथा बहुमत साना किसान सहकारी संस्थाहरुको नभएसम्म कृषि विकास बैंक तथा अन्य संस्थापकहरुले आ–आफ्नो स्वामित्वमा रहेको शेयर क्रमशः साना किसान सहकारी संस्थाहरुलाई बिक्री गर्नुपर्ने व्यवस्था भए बमोजिम माथि उल्लिखित संस्थापक शेयर खरिद गर्नको लागि विद्यमान साना किसान सहकारी संस्थाहरुलाई पहिलो प्राथमिकता दिइने छ ।

सेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लिखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ । तर सेयर खरीद गर्न आवेदन गरेको कुल सेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमाभन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ । दशमलवमा (खण्डित रुपमा) आउने गरी सेयर आवेदन गर्न पाइने छैन ।

शिलबन्दी खाम बाहिर “साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरिद आवेदन “उल्लेख भएको हुनु पर्नेछ । गोप्य शिल्ड बोलपत्रमा लाहाछाप गरिएको हुनु पर्नेछ । बोलपत्र पेश गर्नका लागि मंसिर २४ उक्त वित्तीय संस्थाबाट घोषणा हुने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश स्वीकृत आवेदनकर्ताहरूले प्राप्त गर्ने छन् ।

५ लाख रकमभन्दा माथि आवेदन गर्नेको हकमा प्यान नं. को प्रमाणपत्रको प्रतिलिपि र पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । शेयर बाँडफाँड गर्दा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम पहिलो प्राथमिकता साना किसान सहकारी संस्थाहरुलाई दिई शेयर बिक्री गरिने छ ।

साना किसान सहकारी संस्थाहरुले आवेदन नगरेको खण्डमा वा साना किसान सहकारी संस्थाहरुलाई बाँडफाँड गरी बाँकी रहेको शेयरमात्र सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने अन्य विद्यमान संस्थापक शेयर खरिद आवेदकलाई क्रमशः बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मुल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँट गरिनेछ । शेयर खरिद आवेदन फारममा हाल कायम शेयरधनी नम्बर वा डिम्याट नम्बर उल्लेख गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।