प्रभावकारी बन्दै ‘एक रुपैयाँ बचत’ अभियान


इलामको रोङ गाउँपालिका–३ का पाँच वर्षीय आरभ अर्यालले हजुरबुवाले टीका लगाएर दिएको पचास रुपैयाँ आफ्नो खातामा राख्न दिए । रोङ गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत ‘एक रुपैयाँ बचत’ कार्यक्रम प्रारम्भ गरेपछि उनले टिका लगाएको रकम खातामा जम्मा गर्न लगाएका हुन् ।

रोङका विद्यार्थीले महिनामा पाँच हजार रुपैयाँसम्म बचत गर्न थालेका छन् । अर्यालको खातामा पनि एक महिनाको अवधिमा चार हजार आठ सय जम्मा भएको छ । उनकी आमा सम्झनाले भनिन्,“चकलेट खाने उमेरमा पैसा बैँकमा राख्छु भन्ने मानसिकता पालिकाले नै बनाइदिएको हो ।”

विद्यार्थीको नाममा प्राइम कमर्सियल बैंकमा पालिकाले नै खाता खोलिदिएको अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार, ‘बैंकले पनि प्रत्येक विद्यार्थीको खातामा एक सय रुपैयाँ जम्मा गरिदिने सम्झौता भएको छ । यसबाट पालिकाका करिब दुई हजार पाँच सय विद्यार्थी लाभान्वित हुने पालिकाले जनाएको छ । मङ्सिरमा एउटा विद्यार्थीको खातामा पाँच हजार रुपैयाँ जम्मा भएको अध्यक्ष स्याङ्बोले बताए । हरेक वर्ष वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले पालिकासँग सम्झौता गरेको हो । विद्यार्थीको बैंक खाता विद्यालयमै खोलिने अध्यक्ष स्याङ्बोले बताए ।

“अध्यक्षसँग विद्यार्थी, विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ सर्तमा बैंकसँग सम्झौता भएको छ”, अध्यक्ष स्याङ्बोले भने, “कार्यक्रमका लागि कार्यविधि पारित भएको छ ।”

आर्थिक अभावले बालबालिकाले पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले थालिएको उक्त कार्यक्रमलाई अभिभावकको साथ रहेको छ । “हाम्रो पुस्ताले भोगेका समस्या आउँदो पुस्ताले भोग्न नपरोस् भन्ने उद्देश्य हो,’ गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले भनिन्, “भोलिका लागि आजैदेखि लगानी गर्नुपर्छ भनेर यो अवधारणा ल्याइएको हो । अहिले कार्यविधिका लागि निर्देशक समिति र प्रत्येक विद्यालयमा कार्यान्वयन समिति गठन गरिएको छ ।”

“अभिभावकसँग भेटघाट तीव्र पारेका छौँ, बैंकमा खाता खोल्ने क्रम पनि जारी छ”, उनले भनिन्, “यो महिनाको हालसम्ममा यस कार्यक्रमअन्तर्गत न्यूनतम् ५० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जम्मा भएको छ ।”

यसरी बचत गर्दैजाँदा विद्यार्थीलाई उच्च शिक्षा आर्जनका लागि सहज हुने पालिकाले जनाएको छ । बचत कार्यक्रमको विवरण व्यवस्थापनका लागि सफ्टवेयर तयार गरिएको र यो काम हेर्ने शिक्षकलाई तालिमको व्यवस्था गर्न लागिएको छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार  १३ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।