पर्यटकीय क्षेत्र नगरकोटमा सञ्चालनमा आई प्रिमियम लक्जरी सुविधा प्रदान गर्दै आएको तायो इको रिसोर्टको रेटिङमा गिरावट आएको छ ।
रिसोर्टले गत वर्षको सेप्टेम्बर महिनामा ८३ करोड २५ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको थियो । कर्जा रेटिङका पछि कम्पनीको पछिल्लो वित्तीय अवस्था मूल्यांकनका लागि रेटिङ समीक्षा गर्नुपर्ने हुन्छ । तर रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले आवश्यक जानकारी उपलब्ध गराउन आग्रह गर्दै पटकपटक सम्पर्क गरेता पनि रिसोर्ट सञ्चालक समितिले चासो नदिएपछि रेटिङ घटुवा भएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको नगरकोटमा टुरिस्ट स्ट्याण्र्डड होटल सञ्चालन गर्ने उद्देश्यले तायो इको रिसोर्टको स्थापना गरिएको हो। सन् २०२२ को अक्टोबर महिनामा रिसोर्टले सफ्ट ओपनिङ गरेको थियो ।
कुल १५ हजार ७७० वर्ग मिटरमा निर्माण भएको उक्त रिसोर्टमा दुई सुइट रुम सँगै ४४ वटा लक्जरी कोठाहरु उपलब्ध छन् । नेपाली कला संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको यो रिसोर्ट नेवारी संस्कृति झल्किने गरी निर्माण गरिएको छ ।

कुल १ अर्ब १६ करोड ६० लाखमा निर्माण भएको यो रिसोर्ट ७८ प्रतिशत कर्जा र २२ प्रतिशत सेयरधनीहरुको लगानीमा आधारित छ । रिसोर्ट निर्माणाधीन रहेकै क्रममा कम्पनीले ८३ करोड २५ लाख बराबरको कर्जा लिएको थियो । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ८१ करोड ८० लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र १ करोड ४५ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको थियो ।
रेटिङ समीक्षाका लागि आवश्यक सूचना उपलब्ध नभएका कारण एजेन्सीले यस अघिको रेटिङ घटाएर बी प्लस रेटिङ गरेको छ भने कम्पनीलाई वीथड्रलको सूचना समेत दिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया