नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


नबिल बैंकको ऋणपत्रमा आवेदन दिने मंगलबार अन्तिम दिन हो । बैंकले मंसिर २९ गतेदेखि तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । बैंकले प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बताइएको छ ।

सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्ता मध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामुहिक कोषका लागि समेत समावेश गरिएको छ ।

सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने बैंकले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।