रोजगारीका लागि दैनिक २ हजार बढी नेपालीले देश छाड्दै, मंसिरमा मात्रै ७१ हजार बाहिरिए

0
Shares

सरकारले स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न नसक्दा दैनिक २ हजारभन्दा बढी नेपाली युवाशक्ति विदेश जाने बाध्य हुने गरेको छन् । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा विदेश जाने नेपालीको संख्या ७१ हजार २ सय ७६ पुगेको छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या हो ।

मंसिर महिनामा ३६ हजार ८० जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३५ हजार १९६ जनाले पुन श्रम स्वीकृती लिएका छन् । मंसिरमा बाहिरिने मध्ये ६ हजार ९३४ जना महिला रहेका छन् भने ६४ हजार ३४२ जना पुरुष रहेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष झण्डै ३ हजार बढी विदेशीएका छन् । २०७९ मंसिरमा ६८ हजार ५६४ जना नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए।

चालु आवको साउनमा ५५ हजार ५७५ जना कामको सिलसिलामा विदेशिएका थिए । यस्तै भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ जना र कात्तिकमा ४३ हजार ६२२ जना वैदेशिक रोजगारीमा गएका छन् । गत वर्षको सोही अवधिमा भने साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३ असोजमा ६२ हजार ७०६ जना, कात्तिकमा ७८ हजार ३७० जना वैदेशिक रोजगारीमा गएका थिए ।

असोज र कात्तिक महिना मूख्य चाडबाडको सिजन भएको हुनाले थोरै संख्यामा नेपाली कामदार विदेशीएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतिले बताए । चाडवाड लगत्तै ठूलो संख्यामा नेपाली विदेशिएको उप्रेतिको भनाइ छ । यो सख्यामा अझै वृद्धि हुने उनले अनुमान गरेका छन् ।

धनुषाबाट सबैभदा धेरै बाहिरिए

मंसिर महिनामा धनुषाबाट ३ हजार ६ सय २१ जना नेपाली कामदारको रुपमा विदेश गएका छन् । धनुषाबाट सबैभदा धेरै बाहिरिएको विभागको तथ्यांकले देखाएको छ ।

यस्तै झापाबाट ३ हजार ३ सय ९७ जना रोजगारीको खोजीमा बाहिरिएका छन् भने मोरङबाट ३ हजार १ सय २ रुपन्देहीबाट २ हजार ३ सय ९ जना विदेश गएका छन् ।

विभागका अनुसार सिराहाबाट २ हजार ७ सय १६ जनाले देश छाडेका छन् भने महोत्तरीबाट २ हजार ३८५ जनाले श्रम स्वीकृती लिएका छन् ।

यस्तै सुनसरीबाट २ हजार १९०, तनँहुबाट १ हजार ८८३, सर्लाहीबाट १ हजार ५०९, सप्तरीबाट १ हजार ७८६, बाग्लुङबाट १ हजार ४ सय ५२, पाल्पाबाट १ हजार १८६, कपिलवस्तुबाट १ हजार २७३, मकवानपुरबाट १ हजार २९३ जना, बाराबाट १ हजार १ सय ३९ जना रोजगारीका लागि बाहिरिएका छन् ।

यस्तै दाङबाट १ हजार ७५, रौतहटबाट १ हजार ६३ जना र अर्घखाँचीबाट १ हजार ५४, स्याङ्जाबाट १ हजार ५१ जना विदेशिएका छन् ।

यूएई जाने धेरै

वैदेशिक रोजगार विभायका अनुसार मंसिर महिनामा धेरै नेपालीले यूनाइटेड अरब इमिरेट्स (यूएई)का लागिगएका छन् ।

मंसिर महिनामा १८ हजार ४ सय ९३ जना नेपाली यूएई यएका हुन् । यस्तै कतारका लागि १४ हजार १ सय ५२ जनाले श्रम स्वीकृती लिएका छन् भने साउदी अरवमा १३ हजार ९ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै विगतका वर्षहरुमा नेपाली कामदारको रोजाइमा पर्ने गरेको मलेसियामा मंसिर महिनामा ९ हजार ७७५ जना नेपाली गएको विभागले जनाएको छ । यस्तै कुवेतमा ३ हजार ४५८, कोरियामा १ हजार ८ सय ४३, जापानमा १ हजार ५२८ जना नेपाली गएका छन् ।

यस्तै मंसिर महिनामा रुसका लागि ४० जनाले श्रम स्वीकृति लिएका छन् भने इजरायलमा भने ८५ जनाले श्रम स्वीकृति लिएका छन् । यता, अष्टे«लियाका लागि ४६ जनाले स्वीकृती लिँदा क्यानडामा ४५ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिएर अफगानिस्थानका लागि जाने नेपालीको संख्या ११३ रहेको छ भने अष्ट्रियाको लागि २१४ जना गएका छन् ।

एक महिनामा साढे १३ हजार अदक्ष कामदार विदेशिए

मंसिर महिनामा १३ हजार ५९७ जना अदक्ष कामदार विदेश गएका छन् । जसमध्ये १ हजार ९ सय ७२ जना महिला छन् भने ११ हजार ६२५ जना पुरुष रहेका छन् ।

यस्तै वैदेशिक रोजगारीको लागि ५१ हजार ३४० अर्धदक्ष कामदार गएका छन् । जसमा ४६ हजार ९८१ जना पुरुष रहेका छन् भने ४ हजार ३५९ जना महिला रहेका छन् ।

यस्तै मंसिरमा ६ हजार १२८ जना दक्ष कामदार बाहिरिएका छन् भने १५९ जना प्रोफेसनल बाहिरिएका छन् । उच्च दक्ष कामदार भने ५२ जना मात्र विदेश गएको विभागको तथ्यांक छ ।

पाँच महिनामा झण्डै ३ लाख पलायन

चालु आर्थिक वर्षको पाँच महिना (साउन– मंसिर) मा झण्डै ३ लाख नेपाली कामको खोजिमा विदेश पलाएन भइसकेका छन् । साउनदेखि मंसिरसम्म कुल २ लाख ७७ हजार ५९२ जना नेपालीले विदेश गएका हुन् ।

गत वर्ष ५ महिनामा ३ लाख ३९ हजार ८२ जना नेपाली कामको खोजिमा विदेशिएका थिए । यत आर्थिक वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीको लागि कम संख्या विदेशिएको छ । हमास र इजरायल युद्धका कारण यस वर्ष गल्फ कन्ट्रीहरुमा रोजगारीका लागि जानेको संख्या घटेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उप्रेतिको भनाई छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।