मौरी पालनबाट वार्षिक आठ लाख कमाउँदै केसी, पाँच जनालाई रोजगारी दिन सफल


तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित भएका छन्।

विगत डेढ दशकदेखि सो पेसा अँगालेका केसीले तीनजनालाई पूर्णरुपमा र दुई जनालाई आंशिकरुपमा रोजगारी दिएका छन् । माहुरीपालनबाट वार्षिक आठ लाख रुपैयाँ बचत गर्न सफल भएको उनले बताए। सफल व्यावसायिक माहुरी पालकरुपमा परिचित केसीको दिनचर्या माहुरीका घारलाई स्याहार तथा संरक्षण, चरण र मह काड्नेदेखि बजार व्यवस्थापन हुने गर्दछ।

आजभोलि महको सिजन भएकाले उनी माहुरी कर्ममा व्यस्तछन्। कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै बिएसीएजीको अध्ययन पूरा गरेपछि विसं २०६२ देखि प्राकृतिक मौरीपालन फार्म खोलेर उन्नत जातको माहुरीपालन सुरुआत गरेको उनले बताए।

सुरुमा २५ घार मौरीबाट व्यवसाय सुरु गरेका केसीसँग हाल तीनसय घार मेलीफेरा जातका माहुरी छन्। उनले यस वर्ष १२ टन मह उत्पादन गरी सकेको अझ उत्पादन बढ्ने बताउँछन्।

माहुरीपालन व्यवसायमा सन्तुष्ट भए पनि महको बजार व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । “तोरी चरणबाट उत्पादन हुने मह फुट्करमा प्रतिकिलो पाँच सय रुपैयाँ र जङ्गमा चरणबाट उत्पादन भएको मह प्रतिकिलो आठ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको छु”, उनले भने।

बुधबार माहुरी फार्ममा मह किन्नका लागि आएका तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय श्याम चौधरीले आफ्नै घरआँगनमा शुद्ध मह खान पाइएको बताए । “महमा औषधीजन्य गुण पनि हुन्छ । जाडोमा पनि महको सेवन राम्रो मानिन्छ”, उनले भने।

केसीले फार्ममा हालसम्म एक करोड सम्मसम्म लगानी गरिसकेका छन्। उनले माहुरीका घार र मह बिक्रीबाट वार्षिक २२ रुपैयाँ देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्छन्। सबै खर्च कटाएर वार्षिक सातदेखि आठ लाख बचत हुने गरेको केसीले बताए।

उनी माहुरी चरणका लागि कैलालीसम्म पुग्छन्। माहुरी जोन कार्यक्रमले माहुरी र माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त भए पनि महले बजार पाउन नसक्दा समस्या भएको उनको भनाइ छ।

बालीनालीमा बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि समस्या हुने गरेको केसीको अनुभव छ। उनी भन्छन्, “सरकारले पहिलो प्राथमिकता माहुरी पालक किसानले उत्पादन गरेको महलाई खपतका लागि बजारीकरण गरिदिनुपर्छ।”

हाल उनको फार्ममा माहुरीपालनका बारेमा जानकारी लिन, घार अवलोकनका लागि पनि मानिसहरु आउने गरेका छन्। नेपालमा विभिन्न देशबाट मह आयात हुने र नेपालको महभन्दा ती ठाउँबाट आयातित मह व्यापारीले सस्तो मूल्यमा बिक्री गर्दा आफूहरुले उत्पादन गरेको महले उचित मूल्य र बजार नपाएको केसीले दुखेसो पोखे। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार  १४ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।