विशाल ग्रुपले नेपाल पुनर्बिमा कम्पनीको १५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


विशाल ग्रुपले नेपाल पुनर्बिमा कम्पनीको १५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक सेयरमा आज मंगलबारदेखि माघ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

शेयर प्रति कित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ । कम्पनीको शेयर खरिदका लागि विद्यमान संस्थापकहरु मात्र सहभागी हुन सक्ने छन् । आम सर्वसाधारणले यो पटकको सेयर खरिद बिक्री प्रकियामा भाग लिन पाउने छैनन् । आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम २ लाख कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाखसम्म आवेदन दिन सक्ने छन् ।
तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले तोकिदिएको खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा ( खण्डित रुपमा ) आउने गरी शेयर आवेदन गर्न पाइने छैन ।

सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ । बाँडफाँडमा परेको शेयर आवेदकको नाममा प्रचलित कानुन बमोजिम शेयर खरीद कारोबार तथा नामसारी गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।