माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक ४४ वर्षीय टङ्कप्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका–४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन् ।
वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक ८० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टङ्कप्रसादले एक जना पीडितबाट तीन लाख रुपैयाँ र विक्रमले एक जनालाई मासिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी आठ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले टङ्कप्रसादलाई काठमाडौँ बसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
४७ किलो अवैध चाँदीसहित तीन जना पक्राउ
काठमाडौँ महानगरपालिका–२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनासहित तीन जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर साह, पर्सा वीरगञ्ज महानगरपालिका–३ का ३२ वर्षीय सुमनकुमार सर्राफ र बारा बिश्रामपुर गाउँपालिका–५ का २० वर्षीय मनीष सर्राफ रहेका छन् ।
भोटेबहाल, कोटेश्वर लगायत विभिन्न ठाउँमा राजश्व छलि गरी बिल–बिजक बिना चाँदीका गरगहना भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित एक्टिभ मोबाइल पसलबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सप्तरी कटौना गाउँपालिका–९ घर भई काठमाडौँ पेप्सीकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त पसलबाट मङ्सिर १४ गते राति विभिन्न कम्पनीका २७ थान मोबाइल सेट तथा घडी समेत गरी करिब रु पाँच लाख ५२ हजार ९०० बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले मण्डललाई काठमाडौँ पेप्सीकोलाबाट चोरी गरेका १४ थान मोबाइलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रधान कार्यालयले जनाएको छ ।
जुवातास खेलिरहेका चार जना पक्राउ
काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–९ घर भई भक्तपुर बस्ने ४० वर्षीय गोपाल चौँलागाई समेत चार जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख १८ हजार ९८०, १०५ अमेरिकी डलर र चार बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पाकेटमारीमा संलग्न दुई जना पक्राउ
काठमाडौँ महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा सवार यात्रीको नगद रु १८ हजार पाकेटमारी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पकराउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौँ पेप्सिकोला बस्ने ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौँ टोखा बस्ने ३५ वर्षीय विष्णु थापा रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ बस्ने ४७ वर्षीया शिवा न्यौपानेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले एक जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक रु एक लाख ५० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका–२ बाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया