चिराइतोको मूल्य बढेपछि किसान उत्साहित


बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन् ।

गत वर्ष मुस्किलले प्रतिमनअर्थात् ४० किलो २५ हजार रुपैयाँमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन ५४ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको सन्दकपुर गाउँपालिका–१ का किसान हेमकुमार राईले बताए ।

केही वर्षयता मूल्य घटेपछि राईसँगै धेरैले व्यावसायिक चिराइतो खेती छाड्दै गएका थिए । अहिले अप्रत्याशित मूल्य बढेपछि किसान पुनः उत्साहित भएका छन् । अहिले व्यवसायी चिराइतो सङ्कलन गर्न गाउँगाउँ पुग्न थालेका छन् । चिराइतो खोजी गर्दै गाउँमा व्यापारी आएसँगै व्यावसायिक चिराइतो खेती गर्दै आएका सन्दकपुरका किसाले मनग्य आम्दानी गरिरहेको जडीबुटी व्यवसायी फुर्वा तामाङले बताए ।

पहिले पहिले जङ्गल र खेतबारीमा स्वतः उम्रने चिराइतो पछिल्लो समय किसानले व्यावसायिक रुपमा खेती पनि गर्दै आएका छन् । समुद्र सतहबाट एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले जिल्लाका माथिल्लो भेगका अधिकांश किसाले चिराइतो खेती गरिरहेका छन् ।

इलामको सन्दकपुर गाउँपालिकाका माइपोखरी, सुलुबुङ, माबु, माइमझुवा, जमुना र इङ्ला तथा माइजोगमाई गाउँपालिकाका प्याङ र नयाँबजार एवं इलाम नगरपालिकाको पुवामझुवाको माथिल्लो भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ । यहाँ उत्पादित चिराइतो भारत, चीन र बङ्गलादेश निर्यात हुने गरेको व्यवसायी तामाङको भनाइ छ ।

साउनदेखि कात्तिकसम्म फल्ने र असोजदेखि मङ्सिरमा पाक्ने यसको सङ्कलन भने मङ्सिरपछि गरिन्छ । जरासँगै उखेलेपछि एक किलो जतिका ससाना मुठा बनाइने यसलाई हावा आवतजावत गर्न सकिने ठाउँमा भण्डारण गरिन्छ । भूगोल हेरि मङ्सिरदेखि चैतसम्म चिराइतोको सङ्कलन हुन्छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार  ०७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।