माछापुच्छे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


माछापुच्छे बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी सुरेन्द्र महतोको आफ्नो स्वामित्वमा नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिदको लागि न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । आवेदन पेस गर्दा ११५ रुपैयाँ भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । इच्छुक आवेदकले पुस २ गतेसम्म माछापुच्छ्रे क्यापिटल लिमिटेड, जे.डि.ए. कम्पेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा पुग्ने गरी आवेदन दिन सक्ने छन् ।

शेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १० लाखकित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम उल्लेखित सम्पूर्ण संख्याको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकको एउटा व्यक्ति, एकाघरका सदस्य वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनि तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरि आवेदन पेश गर्नुपर्नेछ। दशमलवमा ( खण्डित रुपमा) आउने गरी शेयर संख्यामा आवेदन गर्न पाईने छैन ।

शिलबन्दी खाम बाहिर ‘माछापुच्छ्रे बैंक लिमिटेड संस्थापक शेयर खरिद आवेदन’ लेखि उल्लेख गरेको हुनुपर्नेछ। गोप्य शिलबन्दी बोलपत्रमा लाहाछाप लगाई पेश गर्नुपर्नेछ । सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गर्ने बैंकले जनाएको छ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ ।

बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षित भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ ।  बैंकको बिद्यमान शेयरधनीले शेयर खरिदको लागि आवेदन पेश गरेको अवस्थामा शेयरधनी नम्बर उल्लेख गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।