मुक्तिनाथ केबलकार निर्माणको लागत ५५ अर्ब १८ करोड, अध्यावधिक डीपीआर हस्तान्तरण


मुक्तिनाथ केबल कार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डको कार्यालयमा बुझाइएको छ ।

मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले बुधबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई अध्यावधिक डीपीआर बुझाएका हुन् ।

केबलबार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रस्तावित केबलकारको लम्बाइ ८१.०१४ किलोमिटर रहेको छ ।केवलकार कास्कीको नयाँपुलबाट घोरेपानी–तातोपानी–जोमसोम–कागबेनी हुँदै मुक्तिनाथसम्म जडान गर्ने योजना छ ।

मुक्तिनाथ दर्शन प्रालिले अहिलेसम्म केबलकार निर्माणमा ४० करोड रुपैयाँ खर्च भइसकेको दाबी गरेको छ । यो केवलकारको विभिन्न स्थानमा स्टेसन जडान गरी झर्ने र चढ्ने व्यवस्था गर्ने योजना छ । केबुलकारमा टप टु बटममा १९ वटा स्टेसन हुनेछन् । यीमध्ये ८ स्टेसनमा अनिवार्य ओर्लिनुपर्ने छ । ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था गर्ने गयारी गरिएको छ ।

केबलकार निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा साढे ५ वर्षअघि नै बोर्ड र कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए। त्यतिखेर केबलकार बनाउन ३९ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।