यार्सागुम्बाको निर्यात दोब्बरले बढ्यो, सात महिनामा ६० करोड भित्रियो


अन्य वस्तुहरुको निर्यात घटिरहँदा यार्सागुम्बाको निर्यात दोब्बरले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०\०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ ।

भन्सार विभागका अनुसार सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा दोब्बर हो ।

गत आर्थिक वर्ष २०७९\०८० मा ३१ करोड २१ लाख ३२ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको थियो । विभागका अनुसार समिक्षा अवधिमा ५०७ किलोग्राम यार्सागुम्बा निर्यात भएको थियो ।

हाल नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपलाञ्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च क्षेत्रमा यार्सागुम्बा उत्पादन हुने गरेको छ ।

नेपालबाट हङकङ, भियतनाम, सिंगापुर, अस्ट्रेलिया, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, जापान, मलेसिया, मङ्गोलिया, रुस, बेलायत र अमेरिकालगायत १५ भन्दा बढी देशमा यार्सागुम्बा निर्यात हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।