सन नेपाल लाइफको बोनसको बुकक्लोज तय, कहिलेसम्म सेयर किन्नेले पाउँछन् ?

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सेयर दाखिला खारेज (बुकक्लोज) मिति निर्धारण गरेको छ ।

कम्पनीको सातौं वार्षिक साधारण सभा प्रयोजनको लागि बैशाख २७ गते बिहीबार एक दिनका लागि सेयर दाखिला खारेज बन्द रहने निर्णय गरेको भएको हो ।  बुकक्लोज अनुसार बैशाख २६ गते बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सेयर कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बैशाख १६ गते आइतबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १०४ औं बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव बिनोद शर्मा पौडेलले जानकारी दिए । बैठकले जेठ ९ गते बुधबार सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले अमृतभोग केटरर्स, कालिकास्थान, काठमाण्डौंमा जेठ ९ गते बुधबार बिहान १० बजे सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरे बमोजिम चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकायले तोकेको पुँजी कायम गर्न चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर समेत निष्काशन गर्ने भएको छ । कम्पनीले बोनसपछि कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशतका दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभाबाट पारित गर्ने भएको हो । उक्त हकप्रद जारी गर्दा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि सभामा छन् ।

यस्तै सभाले वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण छलफल गरी पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।