हिमालयन डिष्ट्रिलरीले ९ महिनामा बेच्यो एक अर्ब ७२ करोडको मदिरा


हिमालयन डिष्ट्रिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा एक अर्ब ७२ करोड ५७ लाख रुपैयाँको मदिरा व्यापार गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६ करोड ८१ लाख रुपैयाँ धेरै मदिरा बिक्री गरेको हो । गत वर्ष कम्पनीले एक अर्ब ४५ करोड ७६ लाख रुपैयाँ बराबरको मदिरा व्यापार गरेको थियो ।

कम्पनीले चैत मसान्तमा ३२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको खुद नाफा १३ करोड ३८ लाख रुपैयाँ अर्थात ६९.२४ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको व्यापार खर्च सामान्य बढेको छ । चालु आवको चैत मसान्तमा कम्पनीले २० करोड ८ लाख बिक्री वितरण खर्च गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १८ करोड ९९ लाख रुपैयाँ व्यापार खर्च गरेको थियो । चैत मसान्तमा १७ करोड ३५ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ ।

चुक्ता पूँजी ३८ करोड ५६ लाख ४५ हजार ५०० रुपैयाँ रहेको कम्पनीको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार प्रतिशेयर आम्दानी ८४ रुपैयाँ ८३ पैसा छ भने बार्षिक ११३ रुपैयाँ हुने देखिन्छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ३२८ रुपैयाँ ५७ पैसा छ ।