‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशुली जलविद्युतको आइपीओ खुल्यो

0
Shares

 

 

काठमाडौं : त्रिशुली जलविद्युत् कम्पनीको बिहीबार (चैत ७ गते)  देखि आइपीओ खुलेको छ । कम्पनीले ३७ करोड ५ लाख रुपैयाँ बराबरको ३७ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १ लाख ११ हजार १ सय ५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यो कुल सेयर कित्ताको ३५ हो । बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयरमा पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँमा आवेदन दिन सकिने छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बाँकी रकम कम्पनीले दोस्रो चरणमा माग गर्नेछ । यो आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा वैशाख ६ गतेसम्म भर्न सकिनेछ ।

त्रिशुलीको यस आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले न्यूनतम १ सय कित्ता देखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । यसमा आइपीओमा सि–आस्वा मार्फत आवेदन दिन सकिनेछ ।

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशुलीको पहिलो आइपीओ, के–छ भुक्तानीको व्यवस्था ?

सरकारले फागुन २ गते घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशुलीको आइपीओ जारी हुन लागेको हो । उक्त घोषणा अनुसार पहिलो किस्ता अन्तर्गत लगानीकर्ताले आवेदनका साथ खरिद गर्न प्रतिबद्धता गरेको रकमको १०% बुझाउनुपर्छ ।

आयोजना निर्माणको न्यूनतम ७५५ भौतिक प्रगति हासिल भएपछि मात्रै प्रतिबद्धता अनुसारको बाँकी ९०% रकम दोस्रो किस्तामा बुझाउनुपर्ने व्यवस्था छ ।

त्रिशुली जलविद्युत आयोजनाको कुल क्षमता ३७ मेगावाट रहेको छ । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लागतमा १९ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम घोषणाकै बेला चैतमा पहिलो सेयर जारी हुने बताएका थिए । सरकारले प्रदेश नं २ बाहेक अन्य ६ वटै प्रदेशमा आयोजना निर्माण गर्न प्रस्ताव गरेको छ । ६ वटा प्रदेश गरेर कुल ३ हजार ४७९ मेगावटको १९ अयोजना निर्माण हुनेछन् । सबैभन्दा धेरै प्रदेश १ मा ६ वटा आयोजना बन्ने भएका छन् ।