एउटा लघुवित्त जसले ९ महिनामा कमायो पूँजीको २ गुणा बढी नाफा

0
Shares

नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय सेवा प्रदान गर्र्न अनुमति पाएको एउटा लघुवित्तले चालु आर्थिक वर्षको ९ महिना अवधिमा आफ्नो चुक्ता पूँजीको १.९४६६ गुणा बढी खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कहाटरी २ मोरङ्गमा केन्द्रीय कार्यालय रहेको जीबन विकास लघुवित्त वित्तीय संस्थाले ९ महिनामा २७ करोड २५ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन उसको चुक्ता पूँजी १४ करोडको १.९४६६ गुणा बढी हुन आउँछ।

यस अवधिमा लघुवित्तको जगेडा कोषको आकार ३ करोड ५५ लाखबाट बढेर ४८ करोड २१ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ। 

सर्वसाधारणमा शेयर जारी गर्न र सूचीकृत हुन बाँकी रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २५९.५६ रुपैयाँ रहेको छ। पछिल्लो तीन महिना अर्थात माघदेखि चैतसम्म मात्रै लघुवित्तले ४ करोड ६६ लाख रुपैयाँले खुद नाफा वृद्धि गरेको हो । लघुवित्तले आर्जन गरेको यो नाफा कतिपय विकास बैंकले कमाएको भन्दा धेरै हो।  

चैत मसान्तसम्ममा लघुवित्तले ५ अर्ब ६३ करोड २५ लाख बचत संकलन तथा ३ अर्ब ९१ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर १० अर्ब ७० करोड ३० लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ।

यसबाट कम्पनीले ६३ करोड ६९ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिमा लघवित्तले ८ करोड ८७ लाख २४ हजार मात्र खुद ब्याज आम्दानी कमाएको थियो। यस्तै ५ करोड ५३ लाखको सञ्चालन नाफा बढेर ३१ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

चालु आवको तेस्रो त्रैमासमा लघुवित्तको खराब कर्जा अनुपात ०.१७ बिन्दुले घटेर ०.३० प्रतिशतमा सुधारिएको छ। लघुवित्तको निक्षेप संकलन लागत ०.८५ बिन्दु घटेर ९.८१ प्रतिशतमा आएको छ। निक्षेप संकलन लागत घट्दा कम्पनीको नाफा वृद्धिलाई टेवा दिएको छ।

प्रकाशित मिति: २५ वैशाख २०७७, बिहीबार  १३ : ५८ बजे