कोरियन भाषा परीक्षामा ८६ हजार सहभागी, १५६ पक्राउ

0
Shares

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका छन् । ९२ हजार ३५६ जनाले आवेदन भरेको भएपनि परीक्षामा भने ८ हजार १४१ जना अनुपस्थित रहे ।

वैदेशिक रोजगार विभागका अनुसार शनिबार भएको परीक्षामा १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ भएका छन् । विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार अरुको नाममा परीक्षा दिन आएकाहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामध्ये नक्कली परीक्षार्थीलाई सार्वजनिक मुद्दा चलाइनेछ ।

आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । परीक्षाको नतिजा नतिजा असार १३ गते प्रकाशित हुनेछ । परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ।

सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६ युवाले आवेदन फारम भरेका थिए । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले फारम भरेका थिए। भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो।

दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ। कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ ।