शेयर बजार खुलाउने कि नखुलाउने भन्ने निर्णयको जिम्मा धितोपत्र बोर्डलाई, असार १ देखि खुल्ने संकेत


सरकारले लकडाउनको नयाँ मोडालिटी सार्वजनिक गर्दै शेयर बजार सञ्चालनको निर्णय गर्न धितोपत्र बोर्डलाई जिम्मा दिएको छ ।

तीन चरणको लकडाउनको मोडालिटीमा पूँजी बजारका सम्बन्धमा मन्त्री परिषदले सार्वजनिक गरेका निर्णयमा केही उल्लेख छैन ।

यस सम्बन्धमा नोटबजारसँग कुरा गर्दै बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले भनेका छन् ‘बजार सञ्चालन गर्ने सम्बन्धमा मन्त्रालयबाट बोर्डलाई अनुकुलता हेरी अघि बढ्नु भनिएको छ । त्यसै कारणले लकडाउनको मोडालिटीमा बजारको विषयमा व्याख्या नभएको होला ।’

उनका अनुसार असार १ गतेदेखि बजार सञ्चालन गर्ने कि भन्ने विषयमा बोर्डले सम्बद्ध पक्षसँग आवश्यक छलफल सुरु गर्ने भएको छ । ‘कुन मोडालिटीमा सहज किसिमले जेठ ३२ गतेभन्दा पछिका दिनमा बजार सञ्चालन गर्न सकिन्छ भन्नेमा हामी छलफल गरेर मात्र निर्णयमा पुग्छौं । अहिले नै बजार खुल्छ भनेर भन्न सकिन्न’ बोर्ड अध्यक्ष ढुङ्गानाले भने ।

मन्त्रालयले बजार सञ्चालनका लागि सबै निर्णय गर्न बोर्डलाई जिम्मेवारी दिएकाले अन्तिम निर्णय बोर्डबाट नै हुने बताएका ढुङ्गानाले नेप्से, मन्त्रालयका साथै सम्बद्ध सबै पक्षसँग बिहीबारदेखि नै छलफल गरि छिटोभन्दा छिटो निर्णयमा पुग्ने बताए ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दा बैंक वित्तीय संस्था, सहकारी र बीमालाई सम्बोधन गरेको छ । त्यसै गरी अत्यावश्यक सेवा पनि पहिलो चरणमा नै खुलाउने भनेर गरिएको निर्णयसँगै रेष्टुरेण्टबाट हुने टेक अवे सेवा लयातका सेवा पनि पहिलो चरणमा नै खुलाउने भनिएको छ । यस्तो अवस्थाका बिच असार १ गतेदेखि शेयर बजार पनि पूर्ण रुपमा सञ्चालनमा आउन सक्ने देखिन्छ ।

यसै बिच धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीले बजार बन्द भएको लामो समय भएको भन्दै आवश्यक गृहकार्यबाट बजार सञ्चालन गरिनु पर्ने बताएका छन् । नोटबजारसँग कुरा गर्दै गिरीले भने ‘निर्णयको जिम्मा बोर्डमा रहँदै गर्दा बजार सञ्चालनका लागि हामीले पहल गर्छौै, सम्भवतः बिहीबार ३ बजेको प्रिफिङका दौरान बजार सञ्चालनका सम्बन्धमा केही सम्बोधन पनि हुन सक्ला । त्यसो नभएको खण्डमा पनि बोर्डले आवश्यक छलफल गरेर बजार सञ्चालनको निर्णय गर्छ ।’