कोरोना कहरको बाबजुत पनि बैंकहरुको नाफा बढ्यो

0
Shares

चालु आर्थिक वर्ष २०७६।०७७ को दश महिना अर्थात बैशाखमा बैंकहरुको नाफामा खासै असर परेको छैन। बैंकहरुले चैत महिनाको तुलनामा बैंशाखमा ४ अर्ब ४१ करोड रुपैयाँ भन्दा धेरैले नाफा वृद्धि गरेका हुन् ।

चालु आर्थिक वर्षको बैशाखसम्ममा ४९ अर्ब ६६ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेका छन्। यो नाफा चालु आर्थिक वर्षकै चैत महिनाको तुलनामा ९.७५ प्रतिशतले धेरै हो। चालु आर्थिक वर्षको चैतमा बैंकहरुले ४५ अर्ब २४ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेका थिए।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले गत चैत ११ गते देखि जेठ अन्तिमसम्म लकडाउन गरेको अवस्था हो।

यो अवधिमा बैंकिङ क्षेत्रलाइ अत्यावश्यक क्षेत्रको रुपमा राखेर सेवालार्इ निरन्तरता दिएको अवस्था हो । तर, अन्य आर्थिक गतीविधि भने ठप्प नै रहेको अवस्थामा पनि बैंकहरुले एक महिनाको अवधिमा करिब साढे ४ अर्ब नाफा गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चैतमा ११ दिन पूर्ण सेवा दिएका बैंकहरुले सो महिनामा मात्र २ अर्ब ८४ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका थिए। तर, बैंशाख माहिनामा मात्र वाणिज्य बैंकहरुले ४ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

बैंकहरुको नाफा फागुन महिनाको तुलनामा चैत महिनामा ६.७२ प्रतिशतले मात्र वृद्धि भएकोमा चैतको तुलनामा बैशाख महिनामा ९.७५ प्रतिशतले बढाएका छन्। कोरोना भाइरसका कारण बैंकहरुले चैतमा ११ दिन पूर्ण सेवा प्रदान गरेको भएपनि बैशाख महिनाभरि नै सर्वसाधारणको निक्षेप लिने र भुक्तानी दिनेको अलवा अन्य कुनै काम गरेका छैनन्।

लकडाउनका कारण अर्थतन्त्र नै ठप्प भएपछि बैंकहरुको सेवा पनि निक्षेप लिने र भुक्तानी दिनेमा मात्र सीमित रह्यो । बैंकहरुको नाफा घट्न सक्ने विश्लेषण गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले चैतमा भन्दा बैशाखमा बैंकहरुको नाफा वृद्धिदर बढेको तथ्याङ्क बाहिर ल्याएको हो।

बैंकहरुले कोरोना भाइरसका कारण नयाँ कर्जा तथा लगानी नगरेपनि पुरानो कर्जा तथा लगानीको रिकभरीमा समेत लकडाउनका कारण समस्या देखिएको बैंकरहरुले बताउँदै आएका थिए। तर, अहिलेको एनएफआरएस प्रणाली अनुसार भविष्यमा आउने आम्दानीलार्इ पनि आम्दानी देखाएर नाफामा देखाउदा नाफा बढेको देखिएको हो। तर, बैंकहरुको नाफा नोक्सान खातामा नाफा बढेको देखिएपनि बैंकहरुलाइ त्यो नाफा नगदमा प्राप्ती भएको भने छैन ।

लकडाउनका कारण तिर्न सक्ने उद्योगी, ब्यापारी तथा ब्यावसायीले समेत कर्जाको इएमआई र ब्याजको किस्ता नतिरेको अवस्थामा समेत बैंकहरुको नाफा चैतको तुलनामा बैशाखमा झनै माथिल्लो दरमा बढेको देखिएको हो।

राहत तथा सहुलियतको आशामा उद्योगी व्यावसायीहरुले कर्जा नतिरेको गुनासो बैंकरहरुले अझै पनि गर्ने गरेका छन्। तर, बैंकहरुले बैशाख देखि निक्षेपमा दिने ब्याजदर घटाएका थिए भने कर्जाको ब्याजदर जेठ महिना देखि मात्र घटाउने अनौपचारिक सहमति समेत गरेको हुनाले नाफा वृद्धिमा कम असर पुगेको हुनसक्ने एक बैंकरले बताए।

अहिले देखिएको नाफा बैंकलाई प्राप्ती नभैसकेको हुनाले एनएफआरएसको तथ्याङ्कको आधारमा नाफा बढ्यो भन्न नमिल्ने उनको तर्क छ। एनएफआरएसमा देखिएको नाफाबाट कर्मचारीलाइ बोनस र सरकारलाइ कर मात्र तिर्न सकिने भएपनि लगानीकर्तालाई प्रतिफल दिन नसकिने उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकले पनि कर्जाको ब्याजदरमा सहुलियत दिने तथा कर्जा तिर्ने समय अवधिमा सन्दर्भमा खुकुलो नीति लिएपनि बैंकहरुको नाफा बढ्ने क्रम नरोकिएको हो।

चैत तथा बैशाखमा बैंकहरुले कर्जा असुलीलाई बढाउन सकिन्छ की भनेर केही छुटका योजनाहरुपनि ल्याएको अवस्था हो । तर, पनि ऋणीले सरकार तथा राष्ट्र बैंकको निर्णयलाइ अनुसरण गर्दै कर्जा भूक्तानीको लागि समय पर्खिएको भएपनि चैतको तुलनामा बैशाख महिनाको नाफा करिब १० प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ ।

बैशाखसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ। बैंकले यस अवधिसम्ममा ३ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ। त्यसैगरी बैशाखसम्ममा सबैभन्दा थोरै नाफा गर्नेमा सिभिल बैंक रहेको छ। बैंकले यस अवधिसम्ममा ४३ करोड ६६ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

गत वर्षको बैशाखको तुलनामा नाफा ५ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको बैंशाखसम्ममा बैंकहरुले कूल ४९ अर्ब ६६ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.१७ प्रतिशतले थोरै हो।

गत आर्थिक वर्षको बैशाखसम्ममा २८ बाणिज्य बैंकहरुले ५२ अर्ब ३६ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेका थियो। गत आर्थिक वर्षको सञ्चालनमा रहेको जनता बैंक चालु आवमा ग्लोबल आइएमई बैंकसँग गाभिएपछि हाल सञ्चालनमा रहेका बैंकको संख्या २७ रहेको छ ।

बैंकहरुको नाफा गत आवको बैशाखको तुलनामा चालु आवको सोही अवधिमा घट्नुको कारण कोरोना भाइरका कारण ठप्प रहेको अर्थतन्त्र हो ।

कोरोना भाइरसका कारण करिब तीन महिना लामो लकडाउनका कारण अर्थतन्त्र नै ठप्प रह्यो । त्यसकारण बैंकहरुले प्रभावित ऋणीलाई ब्याजमा छुट तथा कर्जाको समयअवधि बढाइदिएको हुनाले कर्जा असुलीमा कमी आएको हो ।

लकडाउनका कारण परिपक्क भएको कर्जा तथा ब्याज रिकभरी गर्न नसक्दा गत आर्थिक वर्षको वैशाखको तुलनामा चालु आवको नाफा करिब २ अर्बले घटेको हो ।