नेपालगञ्जमा ठूला होटल खुल्नेक्रम बढेपनि नयाँ शासकीय संरचनाले व्यवसायी दुविधामा

0
Shares

नेपालगञ्जमा पर्यटन व्यवसायलाई प्रमुख आधार बनाएर ठूला सुविधा सम्पन्न होटल खुल्नेक्रम बढ्दै गएको छ। झण्डै एक दशकयता नेपालगञ्जमा पाँचतारे, चारतारे र तीनतारेसहित दर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् ।

तर साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा राष्ट्रिय, अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगञ्जका ठूला होटल व्यवसायीलाई राज्यको नयाँ शासकीय संरचनाले भने झस्काएको छ।  सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नं ५ र यसको राजधानी बुटवल हुनुले नेपालगञ्जमा ठूलास्तरका कार्यक्रम नहुँदा लगानी डुब्ने चिन्ताले होटल व्यवसायीलाई पिरोल्न थालेको छ।

नेपालगञ्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल र डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँच तारेसहितका सुविधा सम्पन्न होटल खुल्नेक्रम बढेको होटल व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले बताए।

सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन होटल लगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएको उनले बताए । अध्यक्ष काफ्लेका अनुसार एक दशक यता नेपालगञ्जमा ठूला होटल व्यवसायमा झण्डै पाँच अर्ब लगानी भएको छ ।

“पुरानो संरचना हुँदासम्म होटल भरिभराउ हुन्थे, नयाँ संरचनापछि त प्रायःहोटलका कोठा खाली हुने गरेका छन् । सरकारी तथा गैरसरकारी निकायका कार्यक्रमले भरथेग हुने अवस्था पनि अब रहेन”, नेपालगञ्जस्थित होटल इन्द्रेणीका सञ्चालक घनश्याम थापाले बताए।

अर्कोतर्फ, नयाँ सुविधा सम्पन्न होटल थपिँदै गएपछि सञ्चालनमा रहेका पुराना होटललाई भने व्यवस्थापन खर्च धान्न नै मुस्किल परेको अवस्था छ। “अन्य व्यापारबाट कमाएको धन होटल व्यवसायमा लगानी गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालगञ्जको होटल व्यवसाय कतै धरापमा पर्ने त होइन भन्ने चिन्ता बढाएको छ”, होटल व्यवसायी सङ्घ प्रदेश ५ का अध्यक्ष काप्mलेको भनाइ छ ।

उनका अनुसार, नेपालगञ्जका ठूला सुविधा सम्पन्न होटलको मुख्य स्रोत मानिएको मानसरोवरका अधिकांश भारतीय तीर्थयात्री ट्राभल एजेन्सी मार्फत आउने र ट्राभल एजेन्सीले उधारोमा व्यापार गर्दा अपेक्षित रुपमा लाभान्वित हुन नसकेको अवस्था पनि यहाँ छ । यो वर्ष मानसरोवरका तीर्थयात्री घटेकाले यहाँका ठूला होटल व्यवसायी दोहोरो मारमा परेको अध्यक्ष काप्mलेले बताए ।

मानसरोवरका तीर्थयात्री बाहेक बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली क्षेत्रको रारा र शे–फोक्सुण्डो ताल, प्यूठानको स्वर्गद्वारी लगायतका पर्यटकीय क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटक यदाकता आउने भएकाले होटल व्यवसायीलाई केही राहत मिलेको व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार  २१ : १४ बजे